नयाँ नेतृत्वमाथि उठ्ने प्रश्न: आक्रोश कि लोकतान्त्रिक चेतना?

नयाँ नेतृत्वमाथि उठ्ने प्रश्न: आक्रोश कि लोकतान्त्रिक चेतना?
+
-
देशसञ्चार AI सारांश
  • नेपाली राजनीतिमा पुराना र नयाँ नेताहरूबीचको द्वन्द्वले नेतृत्वको जिम्मेवारी, जनताको अपेक्षा र विगतका अनुभवहरूको परिक्षण गरिरहेको छ।
  • लोकतन्त्रमा नागरिकका प्रश्नहरूलाई महत्त्व दिनु आवश्यक छ भनी उदाहरणले सिकाउँछ कि गलत निर्णयले बेलामा नै चुनौती दिनु आवश्यक छ।
  • नयाँ नेताहरूको आलोचना गर्नु हाम्रो अधिकार हो, तर बिना पूर्वाग्रह मूल्याङ्कन र सही निर्णय गर्नु महत्त्वपूर्ण छ।

नेपाली राजनीतिमा एउटा बहस निकै चल्ने गर्छ पुराना नेताहरूलाई त हामीले तीस वर्षसम्म पर्खिएर हेर्यौँ, तर नयाँ आउनेहरूलाई किन यति धेरै प्रश्न गरिन्छ? उनीहरूलाई किन तुरुन्तै विश्वास गर्न सकिँदैन? सुन्दा यो प्रश्न सामान्य लागे पनि यसको पछाडि राजनीतिक संस्कार, जनताको अपेक्षा, जवाफदेहिता र इतिहासका तीतो अनुभवहरू लुकेका छन्। यो केवल ‘पुराना र नयाँ’ बीचको द्वन्द्व मात्र होइन, बरु राज्य, नेतृत्व र लोकतन्त्र कस्तो हुनुपर्छ भन्ने गम्भीर विषय पनि हो। त्यसैले यसलाई भावनात्मक दृष्टिकोणबाट भन्दा पनि तार्किक रूपमा हेर्नु आवश्यक छ।

हाम्रो इतिहास फर्केर हेर्दा देखिन्छ कि जनताले नेताहरूलाई अवसर दिन कहिल्यै पछि हट्नु परेन। २०४६ सालको जनआन्दोलनले बहुदलीय व्यवस्था ल्यायो, फेरि २०६२/६३ को आन्दोलनले गणतन्त्र र नयाँ संविधान दियो, जसले देशको संरचना नै बदलिदियो। तर, यति धेरै परिवर्तन हुँदाहुँदै पनि मानिसहरूको जीवनस्तरमा खासै सुधार आएन भन्ने गुनासो धेरैमा छ। यही कारणले गर्दा जनताको धैर्यता र विश्वास बारम्बार परीक्षण भइरहेको छ।

यो सत्य हो कि पुराना नेताहरूलाई पर्याप्त समय दिइयो। दशकौँसम्म राजनीतिमा सक्रिय रहेका उनीहरूले आन्दोलन गरे, जेल जीवन भोगे र व्यवस्था परिवर्तन गरे। जनताले उनीहरूलाई सम्मान मात्र गरेनन्, शासन चलाउने जिम्मा पनि सुम्पिए। तर, राजनीतिक अस्थिरता, भ्रष्टाचार, नातावाद र कमजोर प्रशासन जस्ता समस्याले गर्दा जनता निराश भए। बेरोजगारी, शिक्षा र स्वास्थ्यमा देखिएको असमानता र सुशासनको अभावले गर्दा मानिसहरूमा एउटा प्रकारको ‘राजनीतिक थकान’ पैदा भएको छ। त्यसैले अहिले नयाँ नेताहरूमाथि उठ्ने प्रश्न केवल शंका मात्र होइन, विगतका खराब अनुभवहरूबाट उपजेको आक्रोश पनि हो।

त्यसैले ‘पुरानालाई तीस वर्ष पर्खियौँ, नयाँलाई पनि त्यति नै समय दिनुपर्छ’ भन्ने तर्क ठिक हुदैन । लोकतन्त्रमा कसैलाई समय दिनु राम्रो हो, तर समयको नाममा अन्धभक्त हुनु भनेको लोकतान्त्रिक चेतना होइन। लोकतन्त्र भनेको पाँच वर्षसम्म चुपचाप बसेर हेर्नु मात्र होइन, बरु निरन्तर प्रश्न गर्ने, निगरानी राख्ने र जवाफ माग्ने प्रक्रिया हो। यदि कोही नयाँ भन्दैमा उसलाई आलोचना गर्नै नहुने हो भने त्यो त लोकतन्त्रको मर्म विपरीत हुन्छ।

विश्वका अन्य देशका उदाहरणहरू हेर्ने हो भने पनि यस्तै देखिन्छ। फ्रान्समा इम्यानुएल म्याक्रोन जब पहिलो पटक सत्तामा आए, उनलाई पुराना नेताहरूको विकल्पका रूपमा धेरैले आशावादी नजरले हेरेका थिए। तर, उनी नयाँ भएकै कारणले जनताले सधैँ समर्थन मात्र गरेनन्। श्रम कानुन र पेन्सन सुधारका विषयमा उनी विरुद्ध ठूला आन्दोलनहरू पनि भए। यसले के सिकाउँछ भने लोकतन्त्रमा नयाँ नेतालाई आशाको रूपमा हेरिन्छ, तर आलोचनाबाट उनीहरूलाई छुट दिइँदैन।

दक्षिण एसियाको उदाहरण हेर्दा अझै रोचक छ। भारतमा अरभिन्द केजरीवालको पार्टीले भ्रष्टाचारविरुद्ध अभियान चलाएर ठूलो समर्थन पायो। तर, समर्थनसँगै प्रश्नहरू पनि आए। दिल्लीमा शिक्षा र स्वास्थ्यमा सुधार गरेकोमा धेरैले प्रशंसा गरे, तर केही नीति र प्रशासनिक कामहरूमा विवाद पनि भयो, आलोचना पनि भयो। यसले के देखाउँछ भने लोकतन्त्रमा प्रशंसा र आलोचना सँगसँगै चल्छन्।

नेपालमा पनि नयाँ दलहरू आउँदा जनतामा ठूलो आशा पलाएको छ । तर, आशा जति बलियो हुन्छ, परीक्षा पनि त्यति नै कडा हुन्छ। जनताले विगतका गल्तीहरूबाट धेरै कुरा सिकिसकेका छन् र उनीहरू फेरि त्यही चक्रमा फस्न चाहँदैनन्। त्यसैले नयाँ नेताहरूलाई गरिने प्रश्नलाई सधैँ नकारात्मक रूपमा लिनु हुँदैन। यो त जनताको बढ्दो राजनीतिक चेतनाको संकेत पनि हो।

लोकतन्त्रमा एउटा कुरा निकै महत्त्वपूर्ण हुन्छ समयमै गलत निर्णयलाई चुनौती दिनु। इतिहासले हामीलाई सिकाएको छ कि यदि कुनै गलत कदमलाई बेलैमा रोकिँदैन भने त्यसले भविष्यमा ठूलो संकट निम्त्याउँछ। जर्मनीको उदाहरण लिन सकिन्छ। दोस्रो विश्वयुद्ध अघि हिटलरको उदय हुँदा कसैले पनि उसलाई रोक्ने हिम्मत गरेनन्। नतिजास्वरूप संसारले यस्तो विनाश देख्यो। जुन पहिले कहिल्यै भएको थिएन। त्यो युद्ध केवल लडाइँ मात्र थिएन, बरु मानिसहरू चुपचाप बसेको, अन्धविश्वासमा लागेको र नागरिकले आफ्नो अधिकारका लागि आवाज नउठाएको परिणाम थियो।

नेपालमा पनि नयाँ दलहरू आउँदा जनतामा ठूलो आशा पलाएको छ । तर, आशा जति बलियो हुन्छ, परीक्षा पनि त्यति नै कडा हुन्छ। जनताले विगतका गल्तीहरूबाट धेरै कुरा सिकिसकेका छन् र उनीहरू फेरि त्यही चक्रमा फस्न चाहँदैनन्। त्यसैले नयाँ नेताहरूलाई गरिने प्रश्नलाई सधैँ नकारात्मक रूपमा लिनु हुँदैन।

यस्तै अवस्था श्रीलंकामा पनि देखियो। त्यहाँको सरकारले गलत आर्थिक नीति अपनायो, ऋणको भारी बढायो र एउटै परिवारको नियन्त्रणमा देश चल्यो। कसैले पनि त्यसको विरोध नगरेपछि अन्ततः देश टाट पल्टियो र नागरिकहरू सडकमा ओर्लिन बाध्य भए। यसले के प्रस्ट पार्छ भने राजनीतिमा समयमै प्रश्न नगर्दा देशले ठूलो मूल्य चुकाउनुपर्छ।

तर, यहाँ एउटा कुरा बुझ्नुपर्ने हुन्छआलोचना गर्नु र पूर्वाग्रह राख्नु फरक कुरा हुन्। कोही नयाँ नेता आएको छ भन्दैमा ‘यो पनि अरू जस्तै हो’ भनेर सुरुमै भन्न पनि हुँदैन। यदि हामीले सबैलाई शंकाको दृष्टिले मात्र हेर्यौँ भने राजनीतिमा सुधार आउन गाह्रो हुन्छ। राजनीति नै खराब छ भन्न थाल्यौँ भने असल मान्छेहरू यसमा आउन डराउँछन्।

बेलायतको व्यवस्था हेरौँ, त्यहाँ प्रधानमन्त्री र मन्त्रीहरूलाई सांसद, मिडिया, नागरिक समाज र आफ्नै पार्टीका सदस्यहरूले निरन्तर प्रश्न गरिरहन्छन्। प्रधानमन्त्रीले हरेक हप्ता सांसदहरु मार्फत जनताका प्रश्नहरुको जवाफ दिनुपर्छ। यसको अर्थ उनीहरूलाई काम गर्न बाधा पुर्‍याउनु होइन, बरु उनीहरूलाई सधैँ जिम्मेवार बनाउनु हो। लोकतन्त्रमा विश्वास गर्नु र प्रश्न सोध्नु एकअर्काका विरोधी होइनन्, बरु एकअर्काका पूरक हुन्।

हामीले “गलतलाई गलत र सहीलाई सही भन्न डराउनु हुँदैन” भन्ने कुरालाई आत्मसात् गर्नुपर्छ। कसैले राम्रो काम गर्यो भने त्यसको प्रशंसा गर्नुपर्छ र कसैले गल्ती गर्यो भने तत्काल प्रश्न उठाउनुपर्छ। शिक्षा, स्वास्थ्य वा भ्रष्टाचार नियन्त्रणमा सरकारले राम्रो काम गरेमा त्यसलाई स्वागत गर्नुपर्छ, तर नियम तोड्ने वा शक्ति देखाउने प्रयास गरेमा तुरुन्तै आवाज उठाउनुपर्छ। यही नै स्वस्थ लोकतन्त्रको आधार हो।

नेपालको सन्दर्भमा कुरा गर्दा, हामी प्रायः नेताको आधारमा विभाजित छौँ। “मेरो नेता” र “तिम्रो नेता” भन्दै हामी सही र गलत छुट्याउन बिर्सिन्छौँ। आफ्नो नेताले गल्ती गर्दा चुप लाग्ने र अर्काको नेताले सानो गल्ती गर्दा पनि चर्को विरोध गर्ने हाम्रो प्रवृत्ति लोकतन्त्रका लागि हानिकारक छ। नागरिकको काम नेताको समर्थक वा विरोधी बन्नु मात्र होइन, बरु सही र गलतको पहिचान गर्नु हो।

वास्तवमा, “समस्या आउनुअघि नै समाधान खोज्नु” राजनीतिमा निकै आवश्यक छ। यदि नेताहरूले सुरुदेखि नै पारदर्शी भएर काम गरे भने समस्या आउँदैन। बलियो नियम, स्वतन्त्र अदालत, सक्रिय मिडिया र सचेत नागरिक भएको देशमा नेताहरूले गलत काम गर्न डराउँछन्। त्यसैले लोकतन्त्र भनेको केवल राम्रो नेता छान्नु मात्र होइन, बरु एउटा यस्तो प्रणाली बनाउनु पनि हो जहाँ गलत काम हुन नपाओस्।

नयाँ नेतृत्वलाई प्रश्न गर्नु हाम्रो अधिकार हो, तर त्यो प्रश्न गर्दा हाम्रो मनमा कुनै पूर्वाग्रह हुनु हुँदैन। नयाँ नेतालाई समर्थन वा विरोध गर्नुअघि उसको कामको मूल्याङ्कन गर्नुपर्छ। पुराना नेताका गल्तीबाट सिकौँ र नयाँहरूको काम हेरेरै आफ्नो धारणा बनाऔँ। याद राखौँ, नेताहरू जनताभन्दा माथि हुँदैनन ऊनीहरू जनताको विश्वासकै उपज हुन्।

एउटा सानो उदाहरणबाट यो कुरा प्रस्ट हुन्छ मानौँ, कोही व्यक्तिले झोलामा विष बोकेर हिँडिरहेको छ र कहिलेकाहीँ त्यो देखाउँछ। अब मानिसहरूले के गर्ने? उसले विष आफैले खाए वा अरुलाई खुवाएपछि मात्र रोक्ने कि सुरुमै सावधान गराउने? यदि कसैले उसलाई “यो ठीक होइन” भन्यो भने उसलाई नकारात्मक सोच्ने वा विरोधी भन्ने कि एउटा जिम्मेवार नागरिक मान्ने? यदि समाजले खतरालाई समयमै चिन्न सक्यो भने ठूलो दुर्घटनाबाट बच्न सकिन्छ। राजनीतिमा पनि ठूला विनाशहरू अचानक आउँदैनन्, तिनका संकेतहरू पहिले नै देखिन्छन्।

त्यसैले, कुनै पनि शक्तिले नियम तोड्ने वा अपारदर्शी काम गर्ने प्रयास गर्छ भने त्यसलाई बेवास्ता गर्नु हुँदैन। गल्ती भइसकेपछि मात्र प्रतिक्रिया दिनुको कुनै अर्थ रहँदैन। लोकतन्त्रमा खबरदारी गर्नु भनेको रिस पोख्नु होइन, बरु समाजलाई सुरक्षित राख्न नागरिकले निभाउनुपर्ने जिम्मेवारी हो। गलत संकेत देखिए पछि तीन हप्ता तीन महिना, बर्ष हैन कहिले काही तीन मिनेट पनि कुर्न हुदैन।

(लेखक श्रेष्ठ तीन दशकदेखि बेलायतमा बसोबास गर्दै विभिन्न सामाजिक राजनीतिक प्रवासी इतिहास तथा समसामयिक विषयमा निरन्तर कलम चलाउँदै आएका छन्।) 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…