जनकपुरधाम- धनुषाको लक्ष्मीनिया गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएकी वृद्धाको घटनामा संलग्न व्यक्तिलाई पक्राउ नगरिएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका छन्।
जनकपुरधाम–ढल्केबर सडकखण्डअन्तर्गत लक्ष्मीनिया क्षेत्रमा स्थानीयवासीले शुक्रबार बिहान करिब डेढ घण्टा टायर बालेर सडक अवरुद्ध गरेका हुन्। उनीहरूले दुर्घटनामा संलग्न व्यक्तिको पहिचान गरी पक्राउ गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।
गत बुधबार बिहान लक्ष्मीनिया गाउँपालिका ७ की ६५ वर्षीया मरनीदेवी महरालाई मोटरसाइकलले ठक्कर दिएको थियो । घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतकका छोरा मुकेश महराका अनुसार उनी आमा खेततर्फ जान सडक पार गर्ने क्रममा दुई जना सवार मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनापछि मोटरसाइकल चालक घटनास्थलबाट फरार भएका थिए।
स्थानीयका अनुसार मधेश सरकार र लक्ष्मीनिया गाउँपालिकाले विभिन्न स्थानमा जडान गरेका सिसिटिभी क्यामेरा बिग्रिएको अवस्थामा रहेकाले दुर्घटनामा संलग्न व्यक्तिको पहिचान गर्न समस्या भएको छ।
भर्खरै
लोकप्रिय
