- पछिल्लो तीन वर्षमा धनगढी उपमहानगरपालिकाले ९१७ जना विद्यार्थीलाई संस्थागत विद्यालयमा छात्रवृत्ति अध्ययनको अवसर प्रदान गरेको छ।
- चालु आर्थिक वर्षमा विज्ञान संकायतर्फ सबैभन्दा बढी १७३ जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको छ।
- छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर र जेहेन्दार विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्न मद्दत पुर्याएको छ।
धनगढी- धनगढी उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रममार्फत पछिल्लो तीन वर्षमा ९ सय १७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययन गर्ने अवसर उपलब्ध गराएको थियो।
जस अन्तर्गत आर्थिकवर्ष २०८१ देखि २०८३ सम्म ९ सय १७ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका हुन्। तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१ मा २७६, २०८२ मा २८३ र २०८३ मा ३५८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।
अघिल्ला वर्षहरूको तुलनामा चालु वर्षमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ। तीन वर्षको अवधिमा विज्ञान संकायतर्फ सबैभन्दा बढी ४७५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।
यस्तै व्यवस्थापन संकायतर्फ ३४३ जना, होटल म्यानेजमेन्टतर्फ ५२ जना, कानूनतर्फ २७ जना, शिक्षातर्फ ९ जना तथा मानविकी संकायतर्फ ३ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्। चालु आर्थिक वर्ष २०८३ मा मात्रै विज्ञानतर्फ १७३, व्यवस्थापनतर्फ १३९, होटल म्यानेजमेन्टतर्फ २६, मानविकीतर्फ २, शिक्षातर्फ १ र कानूनतर्फ १ जना गरी कुल ३५८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ।
धनगढी उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमा उपलब्ध छात्रवृत्ति कोटामा विगतका वर्षहरूमा प्रतिस्पर्धात्मक परीक्षा प्रणालीमार्फत विद्यार्थी छनोट गर्दै आएको थियो।
उपमहानगरपालिकाका अनुसार छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई उच्च माध्यमिक तहको अध्ययनमा प्रोत्साहन गर्नुका साथै शैक्षिक अवसरको समानता कायम गर्न सहयोग पुर्याइरहेको छ। आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाइने जनाइएको छ।
भर्खरै
लोकप्रिय
