एक अमेरिकी हेलिकप्टर ‘स्ट्रेट अफ हर्मुज’ नजिकै खसेको जनाइएको छ। अमेरिकी सेनाले हर्मुज नजिक हेलिकप्टर दुर्घटनाग्रस्त भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टरमा सवार दुवै चालक सुरक्षित रहेको र घटनामा कोही पनि घाइते नभएको बताएका छन्।
मंगलबार बिहानसम्म पनि यो दुर्घटनाको कारण खुल्न सकेको छैन। यसैबीच, एक दिनअघि इरान र इजरायलबीच युद्ध भएको थियो। जसले इरान युद्धमा भएको युद्धविराममाथि अहिलेसम्मकै ठूलो दबाब सिर्जना भएको मानिएको छ।
इरानी सरकारी सञ्चारमाध्यमले विदेशी समाचार स्रोतलाई उद्धृत गर्दै हेलिकप्टर खसेको पुष्टि गरे पनि इरानले आक्रमण गरेको बारेमा भने केही बताएका छैनन्।
ट्रम्पले पाइलटहरू सुरक्षित रहेको जानकारी दिंदै दुर्घटनाको बारेमा प्रतिवेदन सार्वजनिक गर्ने बताए। उनले भने, ‘हामी भोलि यसबारे प्रतिवेदन सार्वजनिक गर्नेछौँ।’
अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले अमेरिकी सेनालाई उदृत गर्दै एएच-६४ अपाचे हेलिकोप्टर अस्पष्ट परिस्थितिमा हर्मुज नजिक दुर्घटनाग्रस्त भएको जनाएको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड र रक्षा मन्त्रालयले भने तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्। यद्यपि, उक्त आक्रमणकारी हेलिकप्टर स्वभाविक दुर्घटना हो या होइन भन्ने शंशय भने कायम छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता युद्धले विश्व अर्थतन्त्रलाई नै प्रभावित बनाइरहेको छ। विश्वभर ऊर्जा मूल्य बढेको छ भने खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरू पनि महँगा बनेका छन्।
अप्रिलमा भएको युद्धविरामलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने प्रयास अहिलेसम्म सफल हुन सकेको छैन। यसबीच इजरायलले लेबनानमा इरान समर्थित हेजबुल्लाहविरुद्धको सैन्य अभियान थप तीव्र बनाएको छ।
ट्रम्पको दाबी: इरानसँग सम्झौता नजिक
ट्रम्पले इरानसँगको वार्ताबारे पनि आशा व्यक्त गर्दै दुई–तीन दिनभित्र सम्झौता हुन सक्ने बताएका छन्। उनले भने, ‘हामी निकै राम्रो, बलियो र प्रभावकारी सम्झौताको धेरै नजिक छौँ।’
उनले सैन्य कारबाहीको विकल्प अझै खुला रहेको संकेत गर्दै भने, ‘यदि हामीले बमबारी गर्यौं भने धेरै मानिस मारिन सक्छन्। त्यो कसले चाहन्छ? म चाहन्नँ।’
अहिले पाकिस्तानको नेतृत्वमा विभिन्न मध्यस्थकर्ताहरूले अमेरिका र इरानबीच सम्झौता गराउन प्रयास गरिरहेका छन्। तर दुवै पक्ष आफ्नो अडानमा कठोर देखिएका छन्। अमेरिकाले इरानसँग रहेको उच्च सम्वर्द्धित युरेनियमको भण्डार त्याग्नुपर्ने माग गरिरहेको छ। तर इरानले प्रतिबन्ध हटाउनुपर्ने र रोक्का गरिएका सम्पत्तिहरू फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ।
भर्खरै
लोकप्रिय
