काठमाडौँ – प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई राष्ट्रघाती ठहर गर्दै संसद्को गतिरोध अन्त्यका लागि माफी माग्नुपर्ने अडान राखेका छन्।
मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठकले प्रधानमन्त्रीले माफी माग्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकमा श्रम संस्कृति पार्टी भने सहभागी भएन।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले संसद्को रोस्टमबाटै ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु राष्ट्रहित विपरीत रहेको बताए।
उक्त अभिव्यक्तिले समस्त नेपालीको शीर निहुरिएको र नेपालको सार्वभौमसत्तामाथि प्रहार भएको ठहर गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीले अविलम्ब उक्त भनाइ फिर्ता लिनुपर्ने र देशवासीसँग माफी माग्नुपर्ने माग गरेका छन्। साथै उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने उनीहरूको अडान छ।
उनले भने, ‘प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएको विषयमा समेत विस्तृत छलफल गरियो। उक्त अभिव्यक्ति राष्ट्रहितविपरीत, देशद्रोही प्रकृतिको रहेको तथा यसले सम्पूर्ण नेपालीको शीर निहुराएको र नेपालको सार्वभौमसत्तामाथि गम्भीर प्रहार गरेको निष्कर्ष बैठकले निकालेको छ। त्यसैले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्छ, देशवासीसँग माफी माग्नुपर्छ र संसद्को अभिलेखबाट समेत हटाइनुपर्छ भन्ने विषयमा हाम्रो अडान यथावत छ।’
विपक्षी दलहरू संवादका लागि भने खुला रहेको बताएका छन्। सत्ता पक्षबाट सदन खुलाउने सन्दर्भमा केही अनौपचारिक प्रस्तावहरू आएको उल्लेख गर्दै महरले आगामी दिनमा आयोजना हुने सर्वपक्षीय बैठकमा सहभागी भई आफ्ना धारणा राख्ने बताए। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएमा र सरकार जिम्मेवार बनेमा संसद्को गतिरोध हट्ने संकेत विपक्षी दलहरूले दिएका छन्।
भर्खरै
लोकप्रिय
