- विराटनगर विमानस्थलका चार होटलहरूले खुद्रा मूल्यभन्दा बढी रकम असुल गरेपछि जनही ३ लाख जरिवानासहित कारबाही गरियो।
- आकस्मिक अनुगमनमा ‘ममतामा’ १०० को चकलेट २०० मा र ‘ग्यालेक्सी’ मा ५० को कोक १६० मा फेला परे।
- प्रमुख जिल्ला अधिकारीले उपभोक्ता ठगी नियन्त्रणमा कडा कदम चाल्दै ग्राहकलाई सचेत रहन आग्रह गरेका छन्।
विराटनगर- उपभोक्तासँग अंकित खुद्रा मूल्य भन्दा बढी रकम असुल गर्ने विराटनगर विमानस्थल भित्रका चारवटा होटल, रेष्टुरेन्ट तथा क्याफेलाई कुल १२ लाख रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मंगलबार बेलुकी गरिएको आकस्मिक बजार अनुगमनका क्रममा ती व्यवसायहरूले उपभोक्ता ठगेको फेला परेपछि कारबाही गरिएको हो।
अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, उपभोक्ता हित संरक्षण मञ्च नेपाल कोशी प्रदेश र वडा प्रहरी कार्यालयको सहभागिता रहेको थियो।
जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाका अनुसार विमानस्थल भित्रका होटलहरूले यात्रीहरूसँग बढी मूल्य लिने गरेको गुनासो आएपछि यो छड्के अनुगमन गरिएको हो।
अनुगमनका क्रममा चारवटै होटल तथा रेष्टुरेन्टले नियमविपरीत उपभोक्ताबाट बढी रकम असुल गरेको पाइएपछि जनही ३ लाख रुपैयाँका दरले कुल १२ लाख रुपैयाँ जरिवाना गरिएको छ।
अनुगमनका क्रममा विमानस्थलको बोर्डिङ कक्षमा सञ्चालित ‘ममता होटल’ ले १०० रुपैयाँ अंकित मूल्य भएको चकलेटलाई २०० रुपैयाँमा बिक्री गरेको फेला परेको थियो।
त्यसैगरी, विमानस्थलकै क्यान्टिनमा रहेको ‘ग्यालेक्सी क्याफे एण्ड होटल’ ले ५० रुपैयाँ पर्ने कोकाकोलाको बोतललाई १६० रुपैयाँसम्ममा बिक्री गरी बिल काटेको भेटिएको थियो।
यस्तै, विमानस्थल परिसरमै सञ्चालित ‘गरिमा क्याफे’ ले ५० रुपैयाँ पर्ने कोकाकोलालाई ८० रुपैयाँमा बिक्री गरेको र ‘अनुकूल होटल एण्ड भान्छा घर’ ले ८ रुपैयाँ अंकित मूल्य भएको चकलेटलाई १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको तथ्य अनुगमन टोलीले फेला पारेको थियो।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले उपभोक्तासँग बढी मूल्य लिने, ठगी गर्ने र कानुनविपरीत व्यवसाय गर्नेहरूलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेका छन्।
साथै, उनले यस्ता ठगीबाट बच्नका लागि उपभोक्ता स्वयं पनि सचेत हुन आवश्यक रहेको र बिक्री हुने वस्तुमा अंकित मूल्यभन्दा बढी रकम तिर्न नहुने कुरामा जोड दिएका छन्।
भर्खरै
लोकप्रिय
