- सरकारले संसदमा प्रस्तुत गरेको विधेयकमा देखिएका प्राविधिक त्रुटिहरू सच्याइएको अर्थमन्त्रीले बताए।
- अर्थ मन्त्रालयको पहलमा पहिचान गरिएका त्रुटिहरूलाई सच्याउँदै एक पानाको संशोधन विवरण वितरण गरिएको थियो।
- मन्त्री वाग्लेले अर्थसम्बन्धी विधेयकलाई सामूहिक छलफल र सहमतिबाट अगाडि बढाउने परम्पराको महत्त्व दर्शाए।
काठमाडौँ- नेपाल सरकारले संसद्मा पेस गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमा छपाइका क्रममा केही प्राविधिक त्रुटिहरू देखिएकोले सच्याइएको अर्थमन्त्री डा. स्वर्गीम वाग्लेले बताएका छन्।
गत जेठ १५ गते संसद्मा प्रेषित गरिएको उक्त विधेयकमा देखिएका केही गल्तीहरूलाई सच्याएर एक पानाको संशोधन विवरण सबै सांसदहरू समक्ष पठाइएको उनले जानकारी दिए।
बुधबार बसेको अर्थसमितिको बैठकमा बोल्दै उनले विधेयकमा भएका ती त्रुटिहरू अर्थ मन्त्रालयकै सक्रियता र पहलमा पहिचान गरिएको दाबी गरे।
कसैले लुकाएर वा अन्य पक्षले पत्ता लगाएको नभई मन्त्रालय आफैँले गल्ती महसुस गरी छलफल सुरु हुनुभन्दा अगावै सांसदहरूलाई सुसूचित गराउन सो विवरण उपलब्ध गराएको उनले बताए।
संसद्मा हुने बहस र तर्कलाई बढी व्यवस्थित र सही तथ्यमा आधारित बनाउनका लागि उक्त सच्याइएको पाँच बुँदे पाना समयमै वितरण गरिएको उनले जानकारी दिए।
अर्थमन्त्री वाग्लेले बजेट र अर्थसम्बन्धी विधेयकका अन्तिम निर्णयकर्ता अर्थमन्त्री नै हुने भए तापनि यो कुनै एक व्यक्तिले गोप्य रूपमा तयार पार्ने विषय नभएको स्पष्ट पारे।
यसमा राजनीतिक तथा नीतिगत तहमा एउटा ठूलो समूहले सामूहिक छलफल र सहमति गरेर मात्र निर्णय लिने परम्परा रहेको उनको भनाइ थियो।
छपाइको क्रममा सामान्य त्रुटि भए पनि मन्त्रालयले त्यसलाई समयमै सच्याएर पारदर्शी ढंगले अघि बढेको उनले बताए।
भर्खरै
लोकप्रिय
