- काठमाडौँमा जिल्ला समन्वय समिति महासंघको नेतृत्व चयन प्रक्रियामा कांग्रेसभित्र विवाद चर्किंदै गएको छ।
- सन्तोष बुढाथोकीलाई अध्यक्ष बनाउन माग भइरहेका बेला मधु आचार्यले फुँयाललाई अध्यक्ष घोषणा गर्दा असन्तुष्टि बढ्यो।
- अधिकांश सदस्यहरू बुढाथोकीको पक्षमा उभिदा फुँयाललाई घोषणा गर्दा विरोध सुरु भएको हो।
काठमाडौँ – जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद्मा नयाँ नेतृत्व चयन प्रक्रिया चलिरहेका बेला कांग्रेसभित्रै विवाद चर्किएको छ। परिषद्का अधिकांश सदस्यले भने काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीलाई अध्यक्ष बनाउनुपर्ने माग गरिरहेका छन्। कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले एकाएक ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयाललाई अध्यक्ष र सन्तोष बुढाथोकीलाई प्रवक्ता घोषणा गरेपछि परिषद् हलमा असन्तुष्टि र विरोध सुरु भएको हाे।

परिषद्मा उपस्थित सदस्यहरूका अनुसार आचार्यको घोषणापछि फ्लोरबाट विरोध शुरू हुन थाल्यो । उनी एक मिनेट नबसी कार्यक्रमस्थलबाट बाहिरिएका थिए। विरोध जनाउँदै केही परिषद् सदस्यहरूले उनलाई रोक्न खोज्दै कांग्रेसको विशेष महाधिवेशन बहुमतको आधारमा सम्पन्न गर्ने पक्षमा उभिने नेताले यहाँ भने बहुमत सदस्यहरूको चाहनाविपरीत निर्णय किन गरेको भन्ने प्रश्न गरेका थिए।
उनीहरूले बुढाथोकीको पक्षमा अधिकांश सदस्य उभिएका बेला ऋषिदेव फुँयाललाई अध्यक्ष घोषणा गर्नुको आधारसमेत खोजेका थिए। त्यसक्रममा आचार्यले “प्रवक्ता पनि ठूलो पद हो” भन्दै प्रस्टाेक्ति दिएका थिए।
उता सन्तोष बुढाथोकीले भने आफूलाई प्रवक्ता घोषणा गरिएको निर्णय अस्वीकार गर्दै अध्यक्ष पदका लागि निर्वाचन समितिमा उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्तासँगै परिषद्मा नेतृत्व चयनको विषय थप पेचिलो बनेको छ।
परिषद्मा सहभागी केही सदस्यहरूको भनाइअनुसार मधु आचार्यले अध्यक्ष घोषणा गरेका ऋषिदेव फुँयालसमेत त्यसपछि असहज बनेका थिए। फुँयालले आफू उम्मेदवारी फिर्ता लिन तयार रहेको संकेत गरेका थिए। तर विवाद उत्कर्षमा पुग्दा आचार्य भने पुनः परिषद्मा फर्किएनन्। ‘पार्टीले मिलाउने जिम्मा दिएको भए घोषणा गरेर किन भागेको ? खादा, माला, अबिर लगाएर शुभकामना दिनुपर्थ्यो’, परिषद् सदस्यहरूको प्रश्न थियो।
कांग्रेसका अधिकांश परिषद् सदस्यले सन्तोष बुढाथोकीलाई समर्थन गर्दा पनि आचार्यले फुँयाललाई जबर्जस्ती अध्यक्ष घोषणा गरेकाले असन्तुष्टि पैदा भएको बाँके समन्वय समिति प्रमुख ज्ञानेन्द्र चौधरीले बताए।
त्यस्तै, दाङ समन्वय समिति प्रमुख नित्यानन्द शर्माले भने, ”विगतमा बुढाथोकीले गरेको कामको मूल्याङ्कन गर्ने हो भने नैतिकताको आधारमा पनि निर्विरोध गर्नुपर्ने हो, हाम्रो पार्टीमा यही रोगको अन्त्य भएको छैन ।”
काँग्रेसभित्र लोकतान्त्रिक अभ्यास, बहुमतको सम्मान र टिके प्रथाको अन्त्यको पक्षमा बहस चलिरहेका बेला महासंघको नेतृत्व चयनमा पुनः व्यक्तिकेन्द्रित निर्णय थोपर्ने प्रयास भएको भन्दै परिषद् सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूको भनाइमा पुरानो शैलीको विरोध गर्दै नयाँ अभ्यासको कुरा गर्ने नेताहरूले व्यवहारमा भने पुरानै हैकमवादी सोच प्रदर्शन गरेकाे आराेप लगाएका छन्।
महासंघको विधानअनुसार करिब डेढ वर्षअघि नै निर्वाचन सम्पन्न हुनुपर्ने भए पनि तत्कालीन अध्यक्ष राजन मेहताको नेतृत्वमा निर्वाचन हुन सकेको थिएन। कांग्रेसकै तर्फबाट अध्यक्ष बनेका मेहतामाथि महासंघलाई प्रभावकारी रूपमा चलाउन नसकेको, समयमै नेतृत्व हस्तान्तरण नगरेको तथा संस्थालाई निष्क्रिय बनाएको आरोप लामो समयदेखि लाग्दै आएको थियो।
महासंघमा काँग्रेसका मात्र नभई विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू आबद्ध रहेकाले मेहताको कार्यशैलीप्रति अन्य दलका सदस्यहरूले समेत असन्तुष्टि जनाउँदै आएका थिए।
यही पृष्ठभूमिमा महासंघलाई चलायमान बनाउन र नयाँ नेतृत्व चयनका लागि दबाब सिर्जना गर्ने उद्देश्यले छैटौँ राष्ट्रिय परिषद् आयोजना गरिएको थियो। तर नेतृत्व चयन प्रक्रियामै पुनः विवाद सिर्जना भएपछि महासंघ फेरि राजनीतिक खिचातानीको केन्द्रमा पुगेको छ ।
विगतदेखि महासंघमा प्रमुख दललाई अध्यक्ष, दोस्रो ठूलो दललाई महासचिव तथा अन्य दललाई उपाध्यक्ष, कोषाध्यक्षलगायत पद लिनेदिने सहमतिमूलक अभ्यास चल्दै आएको थियो । तर निर्वाचन समिति गठन भइसकेपछि परिषद् सदस्यहरूको मताधिकार प्रभावित हुने गरी नेतृत्व घोषणा गर्नु लोकतान्त्रिक मूल्य, संगठनको विधान र निर्वाचन प्रक्रियाको मर्मविपरीत भएको आरोप परिषद् सदस्यहरूले लगाएका छन् ।
भर्खरै
लोकप्रिय
