काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्शांकनको काम बाँकी रहेको बताएका छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिअनुसार स्थापित र निर्देशित रहेको बताएका हुन्।
मन्त्री खनालले मुलुकका अन्य केही स्थानमा दशगजा अतिक्रमण र सीमा पारबाट भएको कब्जासम्बन्धी समस्या रहेको पनि बताए। उनले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभामा उठाएको सीमासम्बन्धी विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिए।
उनले दुई देशबीचको सीमालाई व्यवस्थित र वैज्ञानिक रूपमा व्यवस्थापन गर्न नक्शांकन नभएका क्षेत्रमा सीमा स्तम्भ निर्माण तथा मर्मत, दशगजा अतिक्रमणको तथ्यांक संकलन र सीमा पारको अतिक्रमण अभिलेखीकरणको काम भइरहेको बताए।
उनले भने, ‘हालको नेपाल–भारत अन्तरराष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल–भारत सीमानाअन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्सांकन हुन बाँकी रहेको छ। ती स्थानबाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेसन तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन्। प्रधानमन्त्रीले संसद्मा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छ।’
परराष्ट्रमन्त्री खनालले लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम पुनः सक्रिय भएको जानकारी दिँदै नेपाल र भारतका संयुक्त प्राविधिक टोलीहरू हाल सीमा क्षेत्रमा परिचालन भई संयुक्त रुपमा लगत संकलनको काम गरिरहेको जानकारी दिए।
भर्खरै
लोकप्रिय
