हुम्ला – शत्रुभञ्जन गुल्म रानीवनले अदानचुली गाउँपालिकाका तीन वटा वडाका स्थानीयलाई पायक पर्ने गरी निर्माण गरेको हेलिप्याड हस्तान्तरण गरेको छ। उक्त वडाका वस्तीका स्थानीय बिरामी पर्दा र विपदको समयमा राहत सामग्री ढुवानी गर्न सहजताका लागि सेनाले सो हेलिप्याड निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको हो।
आर्थिक वर्ष २०८२/८३ मा अदानचुली गाउँपालिका– ५ को बारीगाउँमा वडा नं ४, ५ र ६ का स्थानीयको सुविधालाई ध्यानमा राखी सम्भावित विपद प्रतिकार्य कारवाही, सुत्केरी र अन्य जटिल केसका बिरामीको उद्वारजस्ता भैपरी कार्यको लागि छिटो पहुंँच स्थापना गरी उद्वार तथा राहत कार्य हेलिकोप्टरबाट गर्न हेलिप्याड निर्माण गरिएको हो।
त्यो गाउँपालिकालाई हस्तान्तरण गने कार्य भएको शत्रुभञ्जन गुल्म रानीबनका गुल्मपति हरिबाबु श्रेष्ठले बताए। स्थानीयको माग बमोजिम नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध कायम गर्न शीघ्र प्रभावी योजना अनुरूप शत्रुभञ्जन गुल्मको प्रत्यक्ष निगरानीमा हेलिप्याड निर्माण कार्य सम्पन्न भई हस्तानान्तरण गरिएको हो।
सेनाले गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहलाई हस्तान्तरण गरेको हो। करिब १० लाख लागतमा बनेको उक्त हेलिप्याडमा साना तथा ठुला हेलिकोप्टरले उडान गर्न सक्नेछन्।
डेढ महिनामा सो हेलिप्याड कामदार र सेना जवानहरुले निर्माण कार्य सम्पन्न गरेका हुन्। यस हेलिप्याडबाट तीन वटै वडाका तीन हजार दुई सय स्थानीय प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास गरिएको छ।
यसको निर्माणपछि जिल्लाको दक्षिणी भेगमा सैनिक कारवाही (आन्तरिक द्वन्द्व, निर्वाचन आादि) गर्न पनि सहज हुने छ। हेलिप्याड निर्माणबाट सेनाप्रति जनताको बिश्वास पैदा गरि स्थानीयको परम्परागत धारणा परिवर्तन तथा सेनाप्रति सकारात्मक भावना पैदा हुने उनले बताए। यसअघि पनि सेनाले हुम्ला जिल्लाको नाम्खा गाउँपालिकामा हेलिप्याड र खार्पुनाथ गाउँपालिकाको खार्पुको शिब मन्दिर क्षेत्रमा शौचालय निर्माण गरेको थियो।
भर्खरै
लोकप्रिय
