- मेक्सिकाले विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० ले हराउँदै समूह ‘ए’ मा ३ अंक हासिल गर्यो।
- उद्घाटन खेलमा तीन रातो कार्ड देखाइएको यो पहिलो पटक हो, जसमा दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडी बाहिरिए।
- मेक्सिको सिटीस्थित एस्टेडियो एस्टेका विश्वकपको ३ फरक संस्करण आयोजना गर्ने पहिलो र एक मात्र रंगशाला बन्यो।
फिफा विश्वकप २०२६ को उद्घाटन खेल तुलनात्मक रुपमा तनावपूर्ण रह्यो। आयोजक मेक्सीकोले सुरुवातबाटै दबाब दिएको खेलमा दक्षिण अफ्रिका २-० ले पराजित भयो। जितसँगै समूह ‘ए’ मा मेक्सिकोले ३ अंक जोड्न सफल भयो। यो खेल केवल तीन अंकका लागि मात्र देखिएन। यो खेलसँगै विश्वकप इतिहासका केही दुर्लभ कीर्तिमानहरू पनि स्थापित भए।
मेक्सिको सिटीस्थित ऐतिहासिक रंगशालामा भएको खेलमा जुलियन किन्योनेसले नवौँ मिनेटमा गोल गर्दै विश्वकप २०२६ को पहिलो गोलकर्ता बने। विश्वकपको ‘उद्घाटन’ खेलमा दोस्रो छिटो गोलको कीर्तिमान समेत जुलियनले बनाए।
उद्घाटन खेलमा सर्वाधिक छिटो गोल गर्ने खेलाडी भने जर्मनीका फिलिप लाहम हुन्। उनले २००६ को विश्वकप उद्घाटन खेलमा छैटौं मिनेटमै गोल गरेका थिए।
विश्वकप उद्घाटन खेलमा सबैभन्दा धेरै रातो कार्ड
यो खेलमा कुल तीन खेलाडीले रातो कार्ड पाए। दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थेम्बा ज्वाने तथा मेक्सिकोका सेजार मोन्तेस मैदानबाट बाहिरिए। विश्वकप उद्घाटन खेलमा तीन रातो कार्ड देखाइएको यो पहिलो घटना हो।
साथै कतार विश्वकप २०२२ का ६४ खेलमा जम्मा चार रातो कार्ड देखाइएको थियो। तर २०२६ संस्करणको पहिलो खेलमै तीन रातो कार्ड देखिएपछि प्रतियोगिताले सुरुवातनै ववाद र सनसनिले भरिन पुग्यो।
त्यस्तै विश्वकपमा एकै खेलमा तीन रातो कार्ड देखिएको घटना दुई दशकपछि दोहोरिएको हो। यसले उद्घाटन खेललाई विश्वकप इतिहासकै सबैभन्दा तनावपूर्ण सुरुआती खेलमध्ये एक बनायो। जर्मनीमा २० वर्षअघि अर्थात २००६ मा भएको विश्वकपमा तीन खेलमा ३ वटा रातो कार्ड देखाइएको थियो भने नेदरल्यान्ड्स र पोर्चुगलको अन्तिम १६ को खेलमा ४ रातो कार्ड र १६ पंहेलो कार्ड देखाइएको थियो।
सबैभन्दा ठूलो विश्वकपको भव्य सुरुवात
मेक्सिकोले ४८ टोली र १०४ खेल समावेश भएको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको औपचारिक सुरुआत गर्ने पहिलो अवसर पायो। खेलको उद्घाटन अघिको समारोहमा विश्वप्रसिद्ध गायिका शाकिराले आफ्नो नयाँ गीत ‘दाइ दाइ’ मा प्रस्तुति दिँदै रंगशालालाई थप रोमाञ्चक बनाएकी थिइन्।
उनी फरक ४ विश्वकपमा आफ्नो प्रस्तुती दिने पहिलो कलाकार बनेकी छिन्। उनले २००६, २०१०, २०१४ मा आफ्नो प्रस्तुति दिएकी थिइन्। उनले २०१८ र २०२२ मा भने दिएकी थिइनन्। १२ वर्षपछि उनी विश्वकपमा फर्किएकी हुन्।
एस्टेडियो एस्टेकाले रच्यो इतिहास
मेक्सिको सिटीस्थित यो ऐतिहासिक ‘एस्टेडियो एस्टेका’ विश्वकपको इतिहासमै ३ वटा फरक-फरक संस्करणहरू (१९७०, १९८६ र २०२६) आयोजना गर्ने विश्वकै पहिलो र एक मात्र रंगशाला को कीर्तिमान बनाउन सफल भयो।
साथै तीन संस्करणबाट विश्वकप इतिहासमै २० वटा खेल आयोजना गर्ने पहिलो र एक मात्र रंगशालाको कीर्तिमान पनि यो रंगलशालाले बनायो। साथै मेक्सिको यस मैदानमा विश्वकपका खेलहरूमा अहिलेसम्म अपराजित रहने आफ्नो ऐतिहासिक रेकर्डलाई कायम राख्न सफल भयो। यो मैदानमा विश्वकपमा २ फाइनल समेत भएका थिए।
जारी विश्वकपकै कान्छा खेलाडीको डेब्यु
मेक्सीको र दक्षिण अफ्रिका बिचको यो खेलमा मेक्सिकोका युवा खेलाडी गिल्बर्टो मोरा मैदान प्रवेश गरे। दोस्रो हाफमा मैदान प्रवेश गरेका उनले १७ वर्ष २४० दिनमा विश्वकपमा डेब्यु गरे। इतिहासमै मेक्सिकोको प्रतिनिधित्व गर्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेका उनी जारी अर्थात २०२६ विश्वकपकै सबैभन्दा कम उमेरका खेलाडी समेत हुन्।
त्यस्तै मेक्सिकोका लागि दोस्रो गोल गरेका भेट्रान स्ट्राइकर राउल जिमेनेजले यो गोलसँगै मेक्सिकोका लागि कुल ४६ गोल पूरा गरे। उनी मेक्सिकोको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा संयुक्त रूपमा दोस्रो स्थान (जारेड बोर्गेटी सरह) मा उक्लिएका छन्। अब उनी शीर्ष स्थानमा रहेका ज्याभियर ‘चिचारितो’ हर्नान्डेज (५२ गोल) भन्दा मात्र ६ गोलले पछि छन्।
अफ्रिकी टोलीहरूविरुद्ध मेक्सिकोको अपराजित यात्रा
यो जितसँगै मेक्सिकोले सबै किसिमका प्रतियोगिताहरूमा अफ्रिकी राष्ट्रहरू विरुद्ध आफ्नो अपराजित यात्रालाई लगातार २२ औँ खेलसम्म पुर्यााएको छ। मेक्सिकोले अन्तिम पटक सन् २००५ को गोल्ड कपमा अफ्रिकी टोली (दक्षिण अफ्रिका) सँग हार ब्यहोरेको थियो। त्यसयता कुनैपनि अफ्रिकी टोलीसँग मेक्सिको पराजित भएको छैन्।
मेक्सिकोले सधैँ उद्घाटन खेल हार्ने कीर्तिमानको अन्त
मेक्सिको विश्वकप इतिहासमा सबैभन्दा धेरै उद्घाटन खेल खेल्ने देश हो। तर उसले ९६ वर्षे इतिहासमा कहिले पनि उद्घाटन खेल जितेको थिएन। जसका कारण उसलाई उद्घाटन खेलमा श्रापीत टोलीका रुपमा लिइन्थ्यो जुन जिंक यो पटक तोडेको छ।
विश्वकपको ९६ वर्षको इतिहासमा मेक्सिकोले सबैभन्दा धेरै ८ पटक उद्घाटन खेल खेल्ने दुर्लभ र गौरवपूर्ण अवसर पाएकव छ। उसले सन् १९३०, १९५०, १९५४, १९५८, १९६२, १९७०, २०१० र अहिले २०२६ मा विश्वकपको पहिलो खेल अर्थात उद्घाटन खेल खेल्ने अवसर पायो। तर विगतका सात खेलमा ५ खेलमा हार र २ खेल बराबरी भएका थिए। अन्तत उसले विगतका ७ वटा प्रयासमा जितविहीन रहेको इतिहासलाई आफ्नै मैदानमा दक्षिण अफ्रिकालाई २-० ले हराएर खराब कीर्तिमानको अन्त गरेको छ।
तस्बिरहरू:

भर्खरै
लोकप्रिय
