हुम्ला – कर्णाली करिडोरको धुलाचौर सडक तीन दिनका लागि सुचारु भएको छ। उक्त सडक बन्दका कारण हुम्ला आवतजावत गर्ने यात्रु अलपत्र परेका थिए। गृहमन्त्री सुधन गुरुङको निर्देशनमा बाजुरा जिल्ला प्रशासन कार्यालयले बन्द सडक सुचारु गराएको हो।
गत बुधबार राति दश बजेबाट बन्द गरिएको कर्णाली करिडोरको बाजुरा खण्डको धुलाचौरमा बन्द सडक साठी घण्टापछि तीन दिनका लागि सुचारु भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए।
शुक्रबार दिउँसो गृहमन्त्री गुरुङले दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर बन्द राजमार्ग छिटो खुलाउन निर्देशन दिएका थिए। सडक बन्दका कारण दुवैतर्फ गरी बस, ट्रक, वोलेरो जीप, ट्याक्टर, मोटरसाइकललगायत ८० भन्दा बढी यातायातका साधन धुलाचौरमा रोकिएका थिए।
दुई जिल्लाको सिमाना लाम्पाटा, च्याचौर सीमा विवादलाई लिएर दुई जिल्लाका स्थानीयबीच बिबाद भएपछि जेठ ५ गते लाम्पाटामा दुई पक्षबीच झडपसमेत भएको थियो। त्यसपछि दुवै पक्षको विवाद चुलिँदै आएको थियो। सो झडपमा बाजुराका चार जना घाइते भएका थिए। विवादका आरोपीलाई प्रहरीले नियन्त्रणमा लिन माग गर्दै बाजुराको तर्फबाट कर्णाली करिडोर बन्द गरिएको हो।
भर्खरै
लोकप्रिय
