- रास्वपा केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनका सम्पूर्ण निर्वाचन प्रक्रिया र नतिजा बदर गरेको छ।
- असहमति जनाई उम्मेदवारहरूले निर्वाचनमा अवैधानिकताको आरोप लगाउँदै औपचारिक उजुरीसमेत दर्ता गरेका थिए।
- आयोगले निष्पक्ष निर्वाचनको लागि नयाँ कार्यतालिका सार्वजनिक गर्ने योजना गर्दै पुनः निर्वाचनको तयारी गरिरहेको छ।
धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया र नतिजा बदर गरेको छ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्रअनुसार कैलाली जिल्ला अधिवेशन पार्टीको विधान तथा निर्वाचन कार्यविधिविपरीत भएको ठहर गर्दै सम्पूर्ण निर्वाचन र त्यसका परिणाम रद्द गरिएको छ । आयोगका अनुसार निर्वाचनका क्रममा न्यूनतम आधारभूत प्रक्रिया पालना नभएको, मतदान तथा मतगणनामा स्थापित नियम उल्लंघन भएको, साथै अधिकांश मुख्य उम्मेदवारहरूले लिखित असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेको पाइएको छ। त्यस्तै, योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नगरिएको समेत देखिएको आयोगको निष्कर्ष छ।
यसअघि विवादबीच सम्पन्न निर्वाचनमा कविन्द्र ठकुल्ला जिल्ला सभापतिमा निर्वाचित भएका थिए। अन्य उम्मेदवारमध्ये महेश कुमार चौधरीले ३७ मत र हरि रेग्मीले २२ मत प्राप्त गरेका थिए।
तर निर्वाचनअघि नै उम्मेदवारहरू हरि रेग्मी र महेश कुमार चौधरीले निर्वाचन समिति अवैधानिक रहेको तथा मतदाता नामावलीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन प्रक्रिया बहिष्कार गरेका थिए। उनीहरूले निर्वाचन रोक्न माग गर्दै औपचारिक उजुरीसमेत दर्ता गरेका थिए।
उक्त उजुरी र प्रमाणहरूको अध्ययनपछि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको हो। आयोगले कैलालीमा पुनः निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले निर्वाचन सम्पन्न गर्न नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गरिने तथा केन्द्रीय प्रतिनिधि टोली खटाइने जनाएको छ। यससँगै कैलाली जिल्ला समितिको नेतृत्व चयनका लागि पुनः निर्वाचन हुने भएको छ।

भर्खरै
लोकप्रिय
