- कैलालीमा वन क्षेत्रका अनधिकृत संरचना हटाउने क्रममा टेम्पो भिरबाट खसाल्दा वन कर्मचारीको चर्को आलोचना भएको छ।
- वन कर्मचारीले टेम्पोलाई काम नलाग्ने अवस्थामा रहेको बताए पनि पीडितले चल्ने बताइरहेका छन्।
- घटना पछि स्थानीयस्तरमा वन कार्यालयको व्यवहारप्रति ठूलो असन्तुष्टि व्यक्त गरिएको छ।
कैलालीमा वन क्षेत्रका अनधिकृत संरचना हटाउने क्रममा कर्मचारीहरूले टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि वनका कर्मचारीको देशभरि नै चर्को आलोचना भइरहेको छ।
भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले भिरबाट फालिदिएका हुन्।
वनका कर्मचारीले टेम्पो काम नलाग्ने थोत्रो अवस्थामा रहेको दाबी गरेपनि पीडित परिवार भने सो टेम्पो चल्ने अवस्थामा रहेको बताउँछन्।
पीडित परिवारले हरेक दिन घरबाट टेम्पोमा सामान ओसारेर गोदावरी नगरपालिका–४ स्थित गाइमरे भन्ने स्थानमा व्यापार गर्ने गरेको दाबी गरेका छन्।
‘टेम्पो राम्रो कण्डिसनमा थियो, हरेक दिन विहान वेलुका सोही ट्याम्पो चलाएर घर आवत् जावत गर्ने गरेका थियौं,’ पिडित धनादेवी धमीले भनिन् – दिउसो यात्रुले विश्राम गर्दा सो स्थानमा खाजा बेच्ने गरेका मात्र हौ, बिहान बेलुका सोही टेम्पोमा घर आउ जाउ गर्ने गरेका थियौं, सामान पनि सोही टेम्पोमा बोक्ने गरेका थियौं ।’
धामीका अनुसार कर्मचारीहरूले टेम्पोभित्र रहेका सामान बाहिर निकालेपछि आफूले टेम्पो घरतर्फ लैजान आग्रह गरेकी थिइन्। तर, कर्मचारीहरूले त्यसलाई बेवास्ता गर्दै टेम्पोलाई सडकबाट तल भिरमा खसालेका थिए।
घटनापछि स्थानीयस्तरमा वन कार्यालयको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरिएको छ।
भर्खरै
लोकप्रिय
