- राप्रपाले नेपाली भूमिमा भारतीय एसएसबी प्रवेशको बारेमा सरकारलाई स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ।
- सांसद भरत गिरीले सीमावर्ती नागरिकहरुले देशको सुरक्षा बिनाबर्दी सिपाही बनेर गरिरहेको बताए।
- उनले सीमा विवादलाई राष्ट्रिय संवेदनशील विषय मानी सुरक्षा सुदृढ गर्न र सरकारसँग पहल गर्न जोड दिए।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा स्पष्ट धाराणा सार्वजानिक गर्न सरकारसँग माग गरेको छ।
सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपाका सांसद भरत गिरीले सरकारसँग उक्त माग गरेका हुन्। सांसद गिरीले जुन १३ मा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ थारु टोल क्षेत्रमा हतियारसहितका भारतीय एसएसबीका जवानहरू बिनाअनुमति नेपाली भूमिमा प्रवेश गरेको उल्लेख गर्दै स्थानीय किसानले प्रतिरोध गर्दै उनीहरूलाई फर्काएको बताए।
राज्यको कमजोर उपस्थितिका कारण सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले बिनाबर्दीका सिपाही बनेर देशको रक्षा गरिरहेको उनको भनाइ छ। उनले पूर्वको पशुपतिनगरदेखि पश्चिमको महाकालीसम्म फैलिएको नेपाल–भारत खुला सीमामा बस्ने लाखौं नागरिकको सुरक्षाप्रति सरकारको धारणा के हो ? भन्ने प्रश्न उठाएका थिए।
सुस्ता घटनालाई मात्र नभई कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका सीमा विवादसँग जोडिएको राष्ट्रिय संवेदनशील विषयका सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।
गिरीले सीमामा यस्ता घटना दोहोरिन नदिन संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्न, सीमा सम्बन्धी विषयलाई राष्ट्रिय प्राथमिकतामा राख्न तथा आगामी नेपाल–भारत परराष्ट्रस्तरीय बैठकहरूमा यस विषयलाई स्पष्ट रूपमा उठाउन सरकारसँग माग गरे।
भर्खरै
लोकप्रिय
