काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनपछि नेपालको आर्थिक गतिविधिमा मन्दी छाएको बताएका छन्।
सोमबार राष्ट्रिय सभा बैठकमा बजेटबारे सांसदहरूले उठाएका प्रश्नको जवफ दिने क्रममा उनले जेनजी आन्दोलनपछि आर्थिक गतिविधिमा मन्दी छाएको बताएका हुन्।
उनले जेनजी आन्दोलनपछि मुलुकले कोल्टे फेरेको उल्लेख गर्दै त्यसैलाई न्याय दिने हिसाबले सरकारले आफ्नो नीति, कार्यक्रम र बजेट तय गरेको बताए।
उनले भने, ‘जेनजी आन्दोलनपछि मुलुकको राजनीतिले कोल्टे फेरेको छ। त्यसलाई न्याय गर्ने हिसाबले, प्रतिनिधित्व गर्ने हिसाबले हामी अगाडि बढेकै हो।’
अर्थतन्त्र चलायमान बनाउने हिसाबले सरकारले बजेट ल्याएको उनको भनाइ छ। उनले निजी क्षेत्रको लगानी पनि सुस्त भएकाले सरकारले उनीहरुलाई पनि झक्झक्याउने हिसाबले आर्थिक गतिविधिलाई अघि बढाउन चाहेको बताए।
उनले भने, ‘बजारमा कुनै पनि कुराको डिमान्ड नै छैन। क्रय, विक्रय नै हुन सकिरहेको छैन। खर्च गर्न सक्ने त्यो शक्ति कि शिथिल छ, कि पलायन भएको छ। त्यसैले अहिले यो बजारलाई झक्झक्याउनु पर्दछ। अहिलेको बजेटले त्यो कुरालाई जोड दिएको छ। निजी लगानीमा असाध्यै सुस्तता छ। के हुने हो? अनिश्चतता छ। जेन–जी आन्दोलनपछि एक किसिमको भय, त्रास पनि भयो। यो समग्र गतिविधिमा आर्थिक गतिविधिमा जुन मन्दी भयो।’
भर्खरै
लोकप्रिय
