काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार गैरजिम्मेवार बनेको र संसदीय जवाफदेहिताबाट पन्छिन खोजेको बताएका छन्।
सोमबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेट तथा सरकारका मन्त्रीहरूका गतिविधिप्रति आक्रोश व्यक्त गरेका हुन्। उनले बजेटमा करका दर हेरफेर र जनअपेक्षा सम्बोधन नभएको विषयमा विपक्षी दलहरूले उठाएका प्रश्नको सरकारले उचित उत्तर नदिएको बताए।
उनले पूर्वाधार विकासमन्त्रीले निर्माण कार्यमा ढिलाइ गर्ने ठेकेदारहरूको ‘खुट्टा भाँचिदिने’ भनी दिएको पछिल्लो अभिव्यक्तिको आलोचना गरे। उनले सरकार अभिभावकीय भूमिकामा रहनुपर्ने उल्लेख गरे।
अर्थमन्त्रीमाथि उठेका प्रश्न र संसदीय छानबिन समितिको मागका सम्बन्धमा उनले सत्तापक्षले दुई–तिहाइको दम्भ देखाएको टिप्पणी गरे। यस्तै, संसद्मा आफ्नो भूमिकाका विषयमा स्पष्ट पार्दै उनले आफू अन्यायको विरुद्धमा उभिएको बताए।
सभामुखले बोल्न नदिएका कारण आफूले प्रतिवाद गर्नुपरेको र त्यो कुनै व्यक्ति विशेषको विरोध नभई प्रक्रियाको सुधारका लागि भएको उनको तर्क थियो। उनले आगामी दिनमा पनि संसद्मा जनताका मुद्दा र सरकारका कमीकमजोरीमाथि निरन्तर प्रश्न उठाइरहने प्रतिबद्धता व्यक्त गरे।
भर्खरै
लोकप्रिय
