- कांग्रेसले अख्तियार अधिकारीहरूलाई धम्की दिन प्रधानमन्त्री कार्यालयमा थुनेको आरोप लगाउँदै आपत्ति जनाएको छ।
- सांसद केरुङले प्रधानमन्त्री कार्यालयमा भएको यो घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठनको माग गरे।
- गृहमन्त्री सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले सरकारलाई आग्रह समेत गरेको छ।
काठमाडौँ– नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्की दिइएको विषय बाहिरिएको भन्दै आपत्ति जनाएको छ।
बिहीबारको संसद बैठकमा बोल्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले बुधबार प्रधानमन्त्री कार्यालयमा आयोगका पदाधिकारीलाई बोलाएर धम्की दिँदै पक्राउ पूर्जीसमेत जारी गर्न लगाएको आरोप लगाए।
विषयमा के हो भन्दै उनले जवाफसमेत माग गरेका छन्। ‘अहिले भन्दा १३ घण्टा अगाडि मात्रै सरकारको कार्यशैलीप्रति अत्यन्तै लज्जाजनक विषयवस्तु बाहिर निस्किएको छ। संवैधानिक निकायका प्रमुख अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख तथा पदाधिकारीहरुलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पूर्जी जारी गर्न बाध्य बनाइने नत्र भने उनीहरुलाई प्रधानमन्त्री कार्यालयमा नै थुन्ने थुन्ने धम्कीसहित पक्राउ पूर्जी जारी गर्ने कुरा बाहिर आएको छ’, केरुङले भने ‘सामाजिक सञ्जालमा लाइभ गरिएको यो विषय यदि साँचो हो भने सम्माननीय प्रधानमन्त्रीज्यू त्यो विषय के हो?’
उनले प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रधानमन्त्री शाहले उनीहरुमाथि धम्की दिने काम गरिएको विषय आपत्तिजनक भएकाले त्यसको सत्यतथ्य बाहिर ल्याउनका लागि संसदीय छानबिन समिति गठन गर्न पनि माग गरे।
‘सत्यतथ्य छानविन गर्नका लागि संसदीय छानविन समिति गठन गर्नु पर्दछ। त्यसको छानविन गर्नु पर्दछ। होइन भने प्रधानमन्त्रीज्युले यहाँ आएर सदनलाई जानकारी गराउनु पर्दछ’, केरूङले भने।
सांसद केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानविन आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसँग माग गरे।
भर्खरै
लोकप्रिय
