काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा लेबी नबुझाउने सदस्यहरूले भाग लिन नपाउने भएका छन्।
रास्वपाको बिहीबार बसेको सचिवालय बैठकले लेबी नतिरेका सदस्यलाई महाधिवेशनमा प्रवेश गर्न नदिने निर्णय गरेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेबी अनिवार्य रूपमा तिरेको हुनुपर्नेछ। लेबी नतिरेका सदस्यलाई तत्काल बुझाउन उनले आग्रह गरे।
उनका अनुसार महाधिवेशनमा करिब २ हजार ५ सयदेखि ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। साथै, प्रत्येक जिल्ला समितिले एक जना र प्रत्येक प्रदेश समितिले तीन जना पर्यवेक्षक पठाउन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए।
यस्तै, उनले महाधिवेशनमा ३८ भन्दा बढी देशहरूबाट १ सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने बताए। महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गर्ने पनि उनले जानकारी दिए।
रास्वपाले महाधिवेशनमा निर्वाचन विधुतीय भोटिङमार्फत गर्ने भएको छ। इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरिएको महामन्त्री बुर्लाकोटीले बताए। त्यसको लागि आवश्यक कोटेसन र सम्झौताको प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए।
इभिएम प्रयोग गर्दा मतदान र मतगणना कार्य करिब ६–७ घण्टामै सम्पन्न गर्न सकिने उनको भनाइ छ। परम्परागत विधिबाट दुई दिन लाग्ने प्रक्रिया छोटो समयमै सम्पन्न हुने र प्रतिनिधिहरूको बसाइँ खर्चसमेत घट्ने भएकाले इभिएम प्रयोग गर्ने निर्णय गरिएको उनले जानकारी दिए।
सचिवालय बैठकमा पार्टी विधान संशोधनसम्बन्धी विषयमा पनि छलफल भएको छ। सचिवालयले केन्द्रीय समिति बढाउने गरी प्रस्ताव तयार गरेको छ। हालको प्रस्तावअनुसार पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय हुने र प्रदेश समितिका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था गर्ने उनले जानकारी दिए।
उनले पार्टी समायोजनसम्बन्धी कार्य अगाडि बढाउने र महाधिवेशनपछि पनि बाँकी काम गर्ने बताए। बैठकमा सातै प्रदेशको अधिवेशनको पनि समीक्षा गरिएको थियो। बुर्लाकोटीका अनुसार सात प्रदेशमध्ये मधेस प्रदेशको अधिवेशन पार्टीको केन्द्रीय निर्वाचन आयोगले हाललाई स्थगित गरेको छ भने बाँकी ६ प्रदेशमा अधिवेशन सफलतापूर्वक सम्पन्न भएका छन्। यसैबीच, केही जिल्लामा अधिवेशन हुन नसकेको उनले बताए।
अधिवेशन हुन नसकेका जिल्लाको अवस्था अध्ययन गरी थप निर्णय गर्ने उनले जानकारी दिए। सचिवालय बैठकले पार्टीको निर्वाचन आचारसंहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न पनि सदस्यहरूलाई निर्देशन दिएको छ। महाधिवेशनअघि आवश्यकताभन्दा बढी प्रचारप्रसार भएको पाइएकोले सबै सदस्यलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गर्ने निर्णय गरिएको उनले जानकारी दिए।
महाधिवेशनलाई भव्य बनाउनको लागि विभिन्न उपसमितिहरूले काम गरिरहेको उनको भनाइ छ। असार ६ गते साँझसम्म सम्पूर्ण तयारी सम्पन्न गरी असार ७ गते चितवनमा महाधिवेशनको उद्घाटन गर्ने उनले जानकारी दिए।
भर्खरै
लोकप्रिय
