काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरीले कुनै पनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको बताएका छन्।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा भुवनबहादुर सुनारले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री गुरुङले विकको मृत्युको कारण आत्महत्या देखिएको बताएका हुन्।
उनले भने, ‘पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण आत्महत्यासँग मेल खाने उल्लेख गरिएको छ। साथै, हिरासतमा रहँदा प्रहरीले कुनै पनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको छानबिन प्रतिवेदनमा जनाइएको छ।’
गृहमन्त्री गुरुङका अनुसार उक्त घटनाको यथार्थ विवरण पत्ता लगाउन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो।
छानबिन समितिले दिएका अन्य आवश्यक सुझाव तथा सिफारिसहरू कार्यान्वयनका लागि नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा पठाइसकिएको मन्त्रालयले जनाएको छ।
गृहमन्त्री गुरुङले जातीय भेदभाव तथा सामाजिक र धार्मिक रूपमा संवेदनशील मुद्दाहरूको प्रभावकारी सम्बोधनका लागि नेपाल प्रहरीभित्र ‘दलित सेल’ कार्यान्वयनमा ल्याइएकोसमेत बताए। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रजस्तै यो सेलले पीडितमैत्री अनुसन्धान गरी नागरिकमा विश्वास जगाउने उनको भनाइ थियो।
भर्खरै
लोकप्रिय
