- युद्धविराम सहमति भए पनि दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणले कम्तीमा ४७ जनाको ज्यान लिएको छ।
- इरानले इजरायलमाथि ‘स्थायी युद्ध चाहेको’ आरोप लगाउँदै अमेरिकालाई सम्झौताको उल्लंघनको जिम्मेवारी नाङ्ग्याउने चेतावनी दिएको छ।
- युद्धविरामप्रति सशंकित लेबनानी नागरिकहरू सम्झौताप्रति इजरायलको प्रतिबद्धतामाथि विश्वास नगर्ने देखिएका छन्।
अमेरिकाको दबाबमा इजरायलले हिजबुल्लाहसँग युद्धविराममा सहमति गरेको भएपनि दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण रोकिएको छैन। युद्धविराम सम्झौताका बाबजुत हवाई आक्रमण तीव्र बन्दा कम्तीमा ४७ जनाको मृत्यु भएको जनाइएको छ।
यो नयाँ सहमति त्यतिबेला भएको हो जब दक्षिणी लेबनानमा जारी झडपले अमेरिका र इरानबीच भएको युद्ध अन्त्यसम्बन्धी सम्झौतालाई कमजोर बनाउने चिन्ता बढेको थियो। यसबीच हेजबुल्लाहका आक्रमणमा लेबनानभित्र चार जना इजरायली सैनिक पनि मारिएको जनाइएको छ।
इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि गरे पनि केही समयपछि उसका प्रवक्ताले ‘सेना तत्काल देखिएका खतराहरू हटाउन’ निरन्तर सक्रिय रहने बताएका छन्। हिजबुल्लाहले भने अहिलेसम्म औपचारिक रूपमा युद्धविरामको पुष्टि गरेको छैन। तर उसका महासचिव शेख नइम कासिमले भने, ‘हिजबुल्लाहलाई समाप्त गर्ने योजना असफल भएको छ।’
ट्रम्पको सम्झौतामाथि चुनौती
दक्षिणी लेबनानमा भएको यो नयाँ तनावले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको इरानसँगको सम्झौतामाथि प्रश्न उठाएको छ। उक्त समझदारीले लेबनानमा पनि युद्धविराम कायम गर्ने व्यवस्था गरेको भए पनि वास्तविक अवस्था भने फरक देखिएको छ।
इरानले ट्रम्पले इजरायललाई नियन्त्रणमा राख्न नसकेको आरोप लगाएको छ। ट्रम्प स्वयंले पनि आफ्ना सहयोगी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि असन्तुष्टि जनाउँदै हिजबुल्लाहविरुद्धको कारबाहीमा अनावश्यक रूपमा सर्वसाधारणको ज्यान लिएको आरोप लगाएका छन्।
यसैबीच इजरायलका अतिदक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिरले चार इजरायली सैनिकको मृत्युपछि भने ‘लेबनान जल्नुपर्छ। प्रत्येक इजरायली आमाको आँसुको बदलामा एक हजार लेबनानी आमाले रुनुपर्छ।’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन्।
त्यसको प्रतिक्रिया स्वरूप इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायलले ‘स्थायी युद्ध चाहेको’ आरोप लगाएका छन्। उनले युद्धविरामसम्बन्धी सम्झौताको कुनै पनि उल्लंघनको जिम्मेवारी अमेरिकामाथि पनि पर्ने चेतावनी दिएका छन्।
दुवै पक्षमा दबाब
ट्रम्पको पहल सफल हुन दुवै पक्षले कठोर अडान नरम बनाउनुपर्ने अवस्था भए पनि त्यसका संकेत देखिएका छैनन्।
प्रधानमन्त्री नेतन्याहूमाथि हेजबुल्लाहविरुद्ध सैन्य अभियान जारी राख्न आन्तरिक दबाब छ भने इरान समर्थित हेजबुल्लाहले दक्षिणी लेबनानबाट इजरायली सेना नहटेसम्म आफ्ना आक्रमण जारी रहने बताउँदै आएको छ।
युद्धविरामको घोषणा लगत्तै इजरायली सेनाका प्रवक्ता एफी डेफ्रिनले इजरायलले तत्काल देखिएका खतराहरू हटाउने, हिजबुल्लाहका उल्लंघनको जवाफ दिने तथा आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने बताए।
भीषण झडप र ठूलो मानवीय क्षति
हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायली सैनिकमाथि आक्रमण गरी निर्देशित क्षेप्यास्त्रबाट तीन वटा ट्यांक ध्वस्त पारेको र रकेट तथा तोप आक्रमण गरेको जनाएको छ। यस आक्रमणमा एक बटालियन कमाण्डरसहित चार इजरायली सैनिक मारिएका थिए।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित ४७ जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन्। नबातियेह जिल्लाको हारुफमा नौ जना, हाबुशमा सात जना तथा अल-दुवैरमा एक बालकसहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
युद्धविरामप्रति अविश्वास
युद्धविरामको समाचारप्रति विस्थापित लेबनानी नागरिकहरू भने सशंकित देखिएका छन्। उनीहरू इजरायलले सम्झौता पालना गर्नेमा विश्वस्त छैनन्।
एक स्थानीय बासिन्दाले रोयटर्ससँग भने, ‘सम्झौता राम्रो हो र हामी सबै शान्ति चाहन्छौं। तर इजरायलले यस्ता सम्झौताहरू धेरै पटक गरेको छ र धेरैजसो अवस्थामा त्यसको पालना गरेको छैन।’
अमेरिका र लेबनानबीच थप वार्ता
अमेरिकी विदेश मन्त्रालयले लेबनान सरकार र इजरायलबीच प्रत्यक्ष वार्ता अर्को साता वासिङ्टनमा पुनः सुरु हुने जनाएको छ। यसको उद्देश्य दीर्घकालीन शान्ति स्थापना गर्नु रहेको बताइएको छ।
लेबनानी राष्ट्रपति जोसेफ आउनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको कुराकानीमा वासिङ्टन वार्ता सफल हुन “इजरायली आक्रमण पूर्ण रूपमा रोकिने व्यापक युद्धविराम” आवश्यक रहेको बताएका छन्।
मानवीय संकट गहिरिँदै
इजरायल, अमेरिका र इरानबीचको युद्ध सुरु भएको केही समयपछि हेजबुल्लाहले इरानका सर्वोच्च नेताको हत्या भएको घटनाको प्रतिशोधस्वरूप इजरायलतर्फ रकेट प्रहार गरेपछि लेबनान पनि युद्धमा तानिएको थियो।
जवाफमा इजरायलले लेबनानभरि व्यापक हवाई आक्रमण सुरु गर्योफ र दक्षिणी क्षेत्रको करिब पाँच प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लियो। यसको उद्देश्य उत्तरी सीमाबाट हेजबुल्लाह लडाकुलाई पछाडि धकेल्नु रहेको इजरायलले जनाएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो द्वन्द्व सुरु भएयता महिला र बालबालिकासहित ३ हजार ९ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ११ हजार ६ सयभन्दा बढी घाइते भएका छन्।
हाल पनि करिब १० लाख मानिस विस्थापित अवस्थामै छन् भने दक्षिणी लेबनानका दर्जनौं बस्तीहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।
भर्खरै
लोकप्रिय
