काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गरेका नेता धवल शमशेर राणालाई पार्टीमा फर्किन आग्रह गरेका छन्।
पार्टीको केन्द्रीय समितिको बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी छाडेर गल्ती नगर्न राणालाई आग्रह गरेका हुन्।
उनले नेताहरूले पार्टी छाडेको कुरा जानकारीमा नआएको बताए। उनले नेताहरूले पार्टी छाडेर गल्ती नगर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
राप्रपाका पूर्वमहामन्त्री राणाले भने पार्टी परित्याग गरेर नयाँ पार्टी गठन गर्ने घोषणा गरिसकेका छन्। अध्यक्ष लिङदेनले भने राणाको उक्त कार्यलाई जीवनकै अन्तिम गल्तीको संज्ञा दिए।
उनले भने, ‘हामीले पार्टीको केन्द्रीय समितिको बैठकमा यस विषयमा कुनै जानकारी पनि पाएका छैनौँ। अहिलेसम्म हाम्रा कोही साथीहरूले सुन्नुभएको पनि छैन, उहाँहरूले जीवनको यो क्षणमा आएर यस प्रकारको गल्ती गर्नुहुन्न भन्ने मैले विश्वास गर्छु र उहाँहरूले कथम् यस प्रकारको काम गर्नुभयो भने उहाँहरूको जीवनको यो अन्तिम गल्ती हुनेछ।’
उनले पार्टी नेतृत्वको बहस गर्ने बेला पनि नभएको बताए। महाधिवेशनको निर्धारित समय आएपछि साथीहरूसँग छलफल र परामर्श गरेर निष्कर्षमा पुग्ने उनको भनाइ छ। पार्टी नेतृत्वलाई अझ प्रभावकारी, सशक्त र समयसापेक्ष बनाउने विषयमा सबैको ध्यान केन्द्रित हुने उनले बताए।
भर्खरै
लोकप्रिय
