- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी दिएका छन्।
- पोखरेलको प्रस्तावकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् भने २१ जना पार्टी प्रतिनिधिहरूले समर्थन गरेका छन्।
- पोखरेलले पार्टीको सिद्धान्तलाई सशक्त बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता गरेका छन्।
चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
केन्द्रीय सदस्यका प्रत्यासी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन्।
उम्मेदवारी दर्तासँगै मन्त्री पोखरेलले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताए। उनले भने, “रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु। पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु।”
शिक्षा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका रास्वपाका नेता पोखरेल काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद छन्। सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेका मन्त्री पोखरेल मुलुकको शिक्षा क्षेत्रको नीतिगत र संरचनागत सुधार गरी शिक्षामा प्रविधिको उच्चतम् अभ्यास अवलम्बन गरी स्वदेशमै गुणस्तरीय र रोजगारमुखी, व्यावहारिक शिक्षाको सुनिश्चितताका लागि प्रयत्नशील छन्।
मन्त्री पोखरेलले यसअघि काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख वालेन्द्र शाहका सल्लाहकारका रूपमा काम गरेका थिए। रास्वपाको महाधिवेशनअन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ।
भर्खरै
लोकप्रिय
