काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक व्यक्तित्वहरूलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तर्द्वन्द्वतर्फ जाने खतरा हुने औँल्याएका छन्।
काठमाडौंमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै खनालले विभिन्न राजनीतिक व्यक्तित्वहरू माथि धरपकड भइरहेको भन्दै उनीहरूलाई अपराधीजस्तो व्यवहार गर्न थाले देश अन्तर्द्वन्द्वतर्फ जाने खतरा हुने बताएका हुन्। उनले सरकारले कानुनसम्मत प्रक्रियाहरूलाई अपनाएर र अनुसरण गरेर मात्रै कुनै पनि कदम चाल्नु उचित हुने धारणा पनि राखे।
खनालले अपरिपक्व ढंगले संविधान संशोधनको प्रक्रिया अघि बढाए देश दुर्घटनातर्फ जानसक्ने पनि बताएका थिए। ‘संविधान बनेको १० वर्ष भएको अवस्थामा संविधान कार्यान्वयनको समीक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ,’ उनले भने।
खनालले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति आश्चर्यजनक रहेको टिप्पणी पनि गरेका थिए।
खनालले चितवनमा गएर प्रधानमन्त्रीले ’मेरो राष्ट्रियता माथि शंका गर्नु पर्दैन’ भनेको अवस्थामा संसदमा आएर आफ्नो अभिव्यक्ति रेकर्डबाट हटाउन स्वयं प्रधानमन्त्रीले आग्रह गर्नुपर्ने बताए।
भर्खरै
लोकप्रिय
