- यदुनाथ खनालको सम्झनामा गरिने लेक्चर सिरिजमा डा. बाबुराम भट्टराईलाई निम्त्याएपछि कार्यक्रम विवादमा परेको छ।
- कार्यक्रमका वक्ता छनौटलाई गलत भन्दै पत्रकार कनकमणि दीक्षितले निम्तो अस्वीकार गरेर आलोचना गरेका छन्।
- दीक्षितले डा. भट्टराईलाई माओवादी अपराधको नेतृत्व गरेको आरोप लगाउँदै कार्यक्रम बहिष्कार गरेको बताएका छन्।
काठमाडौँ– वरिष्ठ कूटनीतिज्ञ यदुनाथ खनालको सम्झनामा परराष्ट्र मन्त्रालयले हरेक वर्ष आयोजना गर्ने लेक्चर सिरिजको यसपटकको अंकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई निम्त्याएपछि समग्र कार्यक्रम नै विवादित बनेको छ।
राजा महेन्द्रले अघि बढाएका महेन्द्रपक्षीय कूटनीतिज्ञ खनालको सम्झनामा गरिने कार्यक्रममा राजा महेन्द्रका पूर्णतया विरोधी पात्र डा. भट्टराईलाई निम्त्याएपछि लेक्चर सिरिज नै विवादमा परेको हो।
आगामी असार १४ गते परराष्ट्र मन्त्रालयले यदुनाथ खनाल लेक्चर सिरिज अन्तर्गत डा. भट्टराईलाई वक्ता बनाएर ‘नेपालको विदेश नीति: भूराजनीतिक र भूआर्थिक प्रवृत्तिको दिशाबोध’ शीर्षक लेक्चर आयोजना गर्दै छ।
यसअघिका वर्षहरूमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डा. सूर्य सुवेदी, पूर्वपरराष्ट्रसचिव डा. मधुरमण आचार्य, कूटनीतिज्ञ जयराज आचार्य र भारतीय विश्लेषक सी राजामोहनलाई बोलाइएको कार्यक्रममा यसपटक आश्चर्यजनक ढंगले राजनीतिज्ञ डा. भट्टराईलाई वक्ता बनाइएको हो।
सामाजिक सञ्जालमा डा. भट्टराईलाई कार्यक्रमको वक्ता बनाइएको भन्दै पत्रकार कनकमणि दीक्षितले निम्तोसमेत अस्वीकार गरेका छन्। उनले निमन्त्रणाका लागि धन्यवाद भन्दै भनेका छन्– ‘परराष्ट्र मन्त्रालयको वक्ता छनौट गलत हो र यदुनाथ खनालको अपमान हो।’
दीक्षितले डा. भट्टराईलाई विभिन्न आरोपसमेत लगाएका छन्। नेपालमा भारतीय गुप्तचरलाई हस्तक्षेप गर्न दिएको, माओवादीका जघन्य अपराधको नेतृत्व गरेकोलगायत कारणले यदुनाथ खनालजस्तो व्यक्तिको सम्झनामा गरिएको कार्यक्रममा उनलाई बोलाइएको भन्दै दीक्षितले कार्यक्रम बहिष्कार गरेको फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
यसबारे जानकारी लिन परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीसँग पटकपटक फोन सम्पर्क गर्दा उनले कुनै ‘रेस्पोन्स’ गरेनन्।
भर्खरै
लोकप्रिय
