मोरङ – मोरङको रंगेली नगरपालिका–५ का अध्यक्ष महानन्द मण्डल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अंगीकृत नागरिकताका लागि झुटो विवरणसहित सिफारिस गरेको आरोपमा अध्यक्ष मण्डल र उनका अर्का एक वडा सदस्य गणेश ऋषिदेव पक्राउ परेका हुन्।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका ५५ वर्षीय अध्यक्ष मण्डल र ४६ वर्षीय ऋषिदेवले सोही वडाका मनुवाकुमार महतोले अर्की एक महिला अधनुनिया महतोलाई आमाका रुपमा झुटो विवरण पेश गर्दै नागरिकताका लागि सिफारिस गरेका थिए।
मनुवाकुमार महतोले पेश गरेको झुटो विवरणका आधारमा वडाध्यक्ष र वडासदस्य दुवैले सर्जमिन गर्दै अंगीकृत नागरिकताका लागि सिफारिस गरेका थिए। यसविषयमा जिल्ला प्रशासन कार्यालयले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा दुवै जनालाई पठाएको थियो।
हाल दुवै जनाको घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरी प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए।
भर्खरै
लोकप्रिय
