- गायक सुजन चापागाईंले प्राइभेट च्याट सार्वजनिक भएपछि माफी माग्दै यो घटनाबारे अनभिज्ञ रहेको दाबी गरेका छन्।
- सामाजिक सञ्जाल म्यानेजर र धेरै फेक अकाउन्टले दुरुपयोग गरेको हुनसक्ने भन्दै छानबिनको प्रक्रिया सुरु भएको बताए।
- उनले नेपाल फर्केर कानुनी उपचारको प्रक्रिया अघि बढाउने र सामाजिक सञ्जाल सचेतना बलियो बनाउने अडान व्यक्त गरेका छन्।
काठमाडौँ- गायक सुजन चापागाईंले सामाजिक सञ्जालमार्फत माफी मागेका छन्। प्राइभेट च्याट सार्वजनिक भएपछि विवादमा तानिएका गायक चापागाईंले आफ्नो धारणा सार्वजनिक गर्दै माफी मागेका हुन्।
हाल अष्ट्रेलिया सांगीतिक भ्रमणमा रहेका चापागाईंले विगतमा आफूले निकट सम्बन्धमा रहेका र नजिक ठानेका साथीहरूसँग सन्देश आदानप्रदान गरेको स्वीकार गर्दै त्यसबाट सिर्जिएको दुःखद् परिस्थितिप्रति अन्तरहृदयदेखि माफी मागेका हुन्। तर, सामाजिक सञ्जालमा सार्वजनिक भएका सबै सामग्रीबारे भने आफू अनभिज्ञ रहेको उनको दाबी छ।
उनले आफ्नो सामाजिक सञ्जाल म्यानेजरले पनि सञ्चालन गर्ने गरेको उल्लेख गर्दै सोही क्रममा दुरुपयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको बताएका छन्। साथै, आफ्नो नाममा धेरै फेक अकाउन्ट सक्रिय रहेको जानकारीसमेत आएको भन्दै यस्ता अनैतिक र गैरजिम्मेवार गतिविधिविरुद्ध आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको जनाएका छन्।
चापागाईंले अष्ट्रेलिया सांगीतिक यात्रा सकिएलगत्तै नेपाल फर्केर कानुनी उपचारको प्रक्रिया अघि बढाउने बताएका छन्। साथै, दर्शक, श्रोता, परिवार, आफन्त र साथीभाइप्रति आगामी दिनमा गम्भीर आत्मसमीक्षा गर्दै सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सचेतना अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अन्त्यमा उनले लेखेका छ्न, ‘मेरो बदनियत नहुँदा नहुँदै यहाँहरूले बेहोर्नुपरेको समस्याको निम्ति माफी चाहन्छु।’

भर्खरै
लोकप्रिय
