काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करको दर घटाएर आन्तरिक राजस्व वृद्धि गर्ने सरकारको नीति रहेको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उच्च करको दरले राजस्व बढाउनुको सट्टा घटाउने बताएका हुन्।
उनले करको दर एउटा निश्चित बिन्दुसम्म बढाउँदा राजस्व संकलन बढे पनि त्यसपछि थप वृद्धि गर्दा राजस्व घट्न थाल्ने बताए। सरकारले यस पटक उच्च सिमान्त करको दरमा १० प्रतिशत बिन्दुले कटौती गर्ने प्रस्ताव गरेको जानकारी दिँदै उनले यसबाट राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने दाबी गरे।
करको दरलाई व्यावहारिक र न्यायोचित बनाउँदा करदाताहरूमा ‘स्वेच्छिक अनुपालना’ बढ्ने उनको भनाइ छ।
उनले भने, ‘करको दर अत्यधिक हुँदा स्मगलिङ र अनौपचारिकता बढ्छ, जसले गर्दा करदाता राज्यको नजरबाट छल्ने र भाग्ने प्रवृत्ति देखिन्छ। त्यसैले बढी कर लगाउँदैमा बढी राजश्व उठ्छ भन्ने बुझाइ गलत हो। २९ देखि ३० प्रतिशतको करको दर आजको विश्वमा प्रगतिशील नै मानिन्छ। उचित कर तिरेर राज्यको नजरमा सम्मानित नागरिकका रूपमा बस्न पाउँदा करदातालाई मानसिक शान्तिसमेत मिल्छ। हामीले कर घटाएर राजश्व बढाउने नीति लिएका छौँ।’
भर्खरै
लोकप्रिय
