- सभामुख अर्यालले राज्यका तीन प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीच समन्वय आवश्यक रहेको बताए।
- भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासनका लागि प्रक्रियागत जटिलता हटाउन आवश्यक रहेकोमा उनको जोड छ।
- अर्यालले नागरिक समाजलाई राष्ट्रियता र समृद्ध राष्ट्र बनाउन सरकारलाई निरन्तर खबरदारी गर्न आग्रह गरे।
काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले राज्यका तीन अंगबीच समन्वय आवश्यक रहेको बताएका छन्।
मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख तीन अंगको गति र भावना एकआपसमा मिल्नुपर्ने जिकिर गरेका हुन्। राज्यका तीनअंग शक्ति सन्तुलन र नियन्त्रणको मान्यताअनुसार चल्नुपर्ने मान्यता भए पनि अर्यालले त्यसलाई खण्डित हुने अभिव्यक्ति दिएका हुन्।
व्यवस्थापिकाका प्रमुख समेत रहेका अर्यालले ६८ औं संसद दिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा भने, ‘हामीसँग रहेको देश निर्माणको हुटहुटी, देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना तथा जनजीविकाका सवालमा प्रभावकारी ढङ्गले काम गर्ने सङ्कल्पलाई सफल बनाउन कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका–यी तीनै अङ्गको गति र भावना एकआपसमा मिल्नुपर्छ भन्नेकुरा मैले पटक–पटक भन्ने गरेको छु ।’
यसअघि पनि उनले तीन अंग सन्तुलन र नियन्त्रणको मान्यता भन्दा पनि कार्यपालिकाको सहयोगीका रुपमा अरु दुई निकायलाई भूमिका खेल्नुपर्ने आशय व्यक्त गरेका थिए।
गत फागुनमा सम्पन्न चुनावमा रास्वपाले दुई तिहाइ बहुमत प्राप्त गरेपछि उनी सभामुख र वालेन्द्र शाह प्रधानमन्त्री छन्। न्यायपालिकामा वरियता मिचेर मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाएका छन्। प्रधानमन्त्रीले संसदलाई पटक पटक बेवास्ता गर्दा संसदप्रति जवाफदेही र उत्तरदायी बनाउन रुलिङसमेत गर्न नसकेका अर्यालले संसद दिवसकै अवसर पारेर त्यसको भूमिका सहयोगीका रुपमा हुनुपर्ने अभिव्यक्ति दिएका हुन्।
सभामुख अर्यालले जनजीविका, राष्ट्रियता र समृद्ध राष्ट्र निर्माणको दिशामा सरकारलाई निरन्तर खबरदारी गर्न नागरिक समाज र सरोकारवालाहरूसँग आग्रह पनि गरे।
नेपाल बस्न लायक मुलुक बन्यो, अब स्वदेश फर्किनुपर्छ भन्ने वातावरण सिर्जना गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख गरे।
उनले विकास र सुशासनको मार्गमा अनावश्यक प्रक्रियागत जटिलतामा अल्झिनु नहुने र भ्रष्टाचारमुक्त समाज निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री ज्ञानलाई एकीकृत गरेर मात्र मुलुकलाई द्रुतमार्गबाट विकासको दिशामा अगाडि बढाउन सकिने उनको तर्क छ।
भर्खरै
लोकप्रिय
