- भारतको सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती बढेको भन्दै सुस्तावासीले सरकारलाई काठमाडौँमा आफ्नो दु:ख पोख्न आएका छन्।
- भारतीय एसएसबीले नेपाली भूभागमा प्रवेश गरेर किसानलाई धम्की दिँदै उनीहरूको उखुबारी नष्ट गरेको छ।
- सुस्तावासीले नेपाली नागरिकता, भूमि प्रमाणपत्र र सीमा सुरक्षा मजबुत गर्ने मागसहित आन्दोलन सुरु गरेका छन्।
काठमाडौँ– ‘प्रधानमन्त्रीको गल्ती छ’, सिंहदरबारलाई सुस्ताको दु:ख सुनाउन आएका दु:खी यादवले मंगलबार दिउँसो करिब साढे १ बजे माइतीघरमण्डलामा देशसञ्चारसँग दु:खेसो पोखे।
उनी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका- ५ बाट मंगलबार मात्र माइतीघरमण्डला आइपुगेका हुन्। उनलाई सुस्ताको दु:ख सिंहदरबारमा आसिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुनाउनु छ।
किनकि सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती बढ्दै गएको छ। उनलाई लागेको छ, प्रधानमन्त्री शाहले जेठ १७ गते संसदबाट ‘नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको छ’ भनिदिएपछि अहिले भारतीय एसएसबी थप निर्मम बन्दै गएको छ।
र उनलाई लाग्छ– प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तावासीको दु:खमा नुनचुक थपिएको छ। अनि उनी भन्छन्– ‘प्रधानमन्त्रीको गल्ती छ। अभिव्यक्ति सच्याउनुपर्छ।’
किन पनि भने जेठ १७ गते संसदमा प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिए। २९ गते एसएसबी नेपाल-भारत सीमाभन्दा करिब एक किलोमिटर भित्र छिरेर किसानको उखु किल्चिदिए। प्रतिकार गर्दा गोली हान्ने धम्की दिए।

दुखी यादव
एसएसबी छिरेपछि तत्काल सुस्तावासीले प्रतिकार गरेका थिए जसमध्ये दु:खी यादव एक हुन्।
उनी खेतमा काम गर्दै थिए। भारतीय एसएसबी उनको उखुबारी पसे। उखुका बेर्ना किल्चिए।
यादवले प्रतिकार गरे। किन नेपाल छिरेको भन्दै प्रश्न गरे।
छ जनाको समूहमा बन्दुकसहित आएका एसएसबीले जवाफमा भने– ‘यो तेरो बाउको जग्गा होइन। यो बिहारको जग्गा हो।’
यादव अझ कड्किए– ‘यो नेपाल हो।’
बन्दुकसहित आएका एसएसबी किन शान्त हुन्थे र! उनीहरूले अझ कड्किए– ‘नेपालको हो भने प्रमाण देखा।’
एसएसबीसँग विवाद बढ्दै गयो।

यादवसँगै नजिकै अर्को खेतमा सब्रुन खातुनका दुई जना (श्रीमान्-श्रीमती) पनि काममा थिए। उनीहरूले पनि प्रतिकार गरे।
गाउँलेलाई बोलाए। नेपाल प्रहरीलाई फोन लगाए।
नेपाल प्रहरी ढिला मात्र पुग्यो।
त्यतिबेलासम्म प्रतिकार गर्ने यादव, खातुनका श्रीमान्-श्रीमतीलगायतलाई एसएसबीले धम्की दिँदै भनेको थियो– गोली ठोकिदिन्छु।
‘गोली हान्छु भन्यो। हामीले हात फिजाएर हानेर मार। तर यो हाम्रो भूमि हो। हामी छाड्दैनौँ भन्यौँ’, यादवले भने।
सुस्तावासीले त्यस दिन एसएसबीको हतियार खोस्न तयार थिए। तर सिभिल ड्रेसमा नेपाल प्रहरी गएपछि एसएसबीले भुलेर आएको भन्यो र फर्कियो।
त्यसदिन नेपालको प्रशासन बोलाएको छ भन्दा पनि जग्गाको लालपुर्जा (जग्गाधनी पुर्जा) देखा भन्दै एसएसबीले धम्की दिएको खातुनले बताइन्। ‘हाम्रो प्रशासनलाई बोलाएका छ भन्दा त्यसो भए नेपालको नागरिकता देखा भन्यो। लालपुर्जा देखा भन्यो’, खातुनले भनिन्।
सुस्तामा तीन पुस्तादेखि समस्या रहेको बताइन्।

सब्रुन खातुन
भारतीय एसएसबी नेपाल छिरेर यसरी धम्की दिएको पहिलोपटक होइन। नेपाल छिरेर घरमा बसिरहेका नागरिकमाथि गोली चलाएर हत्या गरेका घटनाहरूसमेत इतिहासका पानामा छन्।
प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि भारतले नेपालीलाई थप दु:ख दिइरहेको यादवले बताए। उनकाअनुसार सुस्ताबाट नागरिक पक्राउ गरेर एसएसबीले बिहारमा लगी चोरीका मुद्दाहरूसमेत लगाउने गरेको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिपछि बिहारमा सुस्ताका नागरिकलाई प्रतिवन्ध लगाइएको उनले बताए। ‘इन्डिया बिहारमा हामीलाई जान दिँदैन। सुस्ताका लागि ब्याण्ड (प्रतिबन्ध) छ भनेर भन्छ’, उनले भने।
उनले भारतबाट सुस्ताका नागरिकलाई पटक-पटक धम्की आए पनि सरकारकातर्फबाट भने कुनै प्रतिकार नहुने गरेको बताए।
तर उनी भन्छन्– ‘सुस्ताका नागरिकका लागि सरकारले ध्यान दिए पनि नदिए पनि हामी हाम्रो भूमिका लागि लड्छौँ।’
लालपुर्जा र नागरिक सुस्ताको माग
सुस्तावासी तीन बुँदे माग लिएर काठमाडौँमा अनिश्चितकाली आन्दोलनका लागि आएका छन्। करिब ५० जनाको संख्यामा आएका नागरिकहरूले भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल र सीमा सुरक्षा सुदृढ गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता प्रदान गर्नुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्नुपर्ने राखेका छन्।
सुस्तामा ३ सय ७५ घरधुरी रहेकोमा १७५ घरधुरी नेपाली नागरिकताविहीन रहेको सलमान खानले जानकारी दिए।
खान उनै हुन्, जसका बुबा मुन्ना खान २०४० सालमा एसएसबीले गोली हानी ढालेको थियो। मुन्ना अहिले पनि नेपाली नागरिकताविहीन छन्। ८१ वर्षीय उनी नागरिकताको माग गर्दै घाइते शरिरसहित माइतीघरमा धर्नामा छन्।

मुन्ना खान
२०४० सालमा मुन्नासहित ४ जनालाई एसएसबीले गोली हानेको थियो। तीन जनाको मृत्यु भइसकेको छ।
मुन्नाले खेतमा ट्रयाक्टरले जोतिरहेको समयमा ट्रयाक्टर चालक र सहचालकलाई एसएसबीले पक्राउ गरेर बिहार लगेको थियो। ट्रयाक्टर जलाइदिएको थियो। त्यसपछि उनी विरोधमा उत्रिएका थिए। त्यतिबेला गोली चल्दा शरिर र खुट्टामा गरी ७-८ वटा गोली लागेको उनले बताए।
सुस्ता बचाउ अभियाका सचिव जयप्रकाश चौधरीलेरीले सुस्तामा विस २०२० सालदेखि विवाद रहेको बताउँछन। त्यतिबेला यहाँ जंगल थियो। जंगलसमेत कसको हो भन्ने विवाद हुँदा सुस्ताको अवलोकनका लागि पुगेका रेन्जर पिताम्बरजंग राणासहितको ७ जनाको टोलीलाई एसएसबीले बेपत्ता बनाएको थियो।
तर पहरेधारकारुपमा नागरिकहरूले जमिनमा लडाइ जारी राखेका थिए। २०२२ सालमा पूर्वसैनिक किशोरकुमार गुरुङको नेतृत्वमा सीमा विवाद समाधान गर्न समिति गठन गरिएको र २०२७ सालमा नेपाल भारत संयुक्त वैठक बसी नापनक्सा गरिएको सचिव चौधरीले बताए।
त्यतिबेला नेपाली नागरिकता हुनेले लालपुर्जा पाएका थिए। नागरिकता नहुनेले प्रमाणपत्रकारुपमा फिल्डबुक पाएका थिए।
लालपुर्जा, फिल्ड बुक भए पनि एसएसबीले अहिलेसमेत ज्यादती गर्दै आएको उनले बताए।
विस २०६८ सालमा उनी भारतीय एसएसबीबाट कुटिएका थिए। सशस्त्र प्रहरी त्यतिबेला समयमै नपुगेको भए सायद आफूलाई एसएसबीले मार्न सक्ने अहिले उनी अनुमान गर्छन्। ‘खेतमा काम गर्दै गर्दा मलाई एसएसबीले धेरै कुटपिट भएको थियो। तर सशस्त्र प्रहरी छिटो पुगेपछि मलाई छाडेर उनीहरू मागेका थिए’, चौधरीले भने ‘अनि म बाँच्न सफल भएँ।’

जयप्रकाश चौधरी
सुस्ताको समस्या २०३६ सालमा नारायणी नदीले जमिन बगर बनाएपछि थप बल्झिएको थियो। ‘त्यसबेला नारायणी नदीले सबै जमिन बगर बनायो। नदीले धार बदल्यो’, उनले भने ‘त्यसपछि विवाद थप बढेको हो।’
विवाद बढ्दै गएपछि २०४० सालमा नेपाल छिरेर एसएसबीले गोली चलायो। २०६२ सालमा जोतभोग गर्दै आएको २६ बिघा जमिन एसएसबीले जोतभोग गर्न नदिएको उनले बताए।
उनकाअनुसार धनैया क्षेत्रको पनि २ हजार बिघा जिमिन एसएसबीले विवाद राखिराखेकाले त्यसपछि विवाद समाधान हुन सकेको छैन।

सुस्ताको माटो
२०६२ सालमै तत्काली राजा ज्ञानेन्द्र शाह बुटवल पुगेको समयमा सुस्तावासीले सीमा सुरक्षाको माग गरेपछि तत्काल (तीन दिनपछि) डिएसपी जगतनाथ श्रेष्ठको नेतृत्वमा ६० जनाको सशस्त्र प्रहरी सुस्ता पुगेको थियो।
त्यसपछि गाउँमा शान्तिको अनुभूत भए पनि विवाद समाधानमा सरकारको पहल हुन नसकेको सचिव चौधरी बताउँछन्। ‘पटक-पटक एसएसबीबाट हामीमाथि ज्यादती छ तर सरकारले विवाद समाधान गर्न पहल गरेको छैन’, उनी गुनासो गर्छन्।
जेठ १७ गते संसदमा प्रधानमन्त्रीले ‘भारतले मात्र होइन। नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको रहेछ’ भन्ने विवादास्पद अभिव्यक्ति दिएको अर्को दिन एसएसबीले सुस्तामा तटबन्ध निर्माण रोकिदिएको थियो।
सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी किनारमा निर्माण भइरहेको तटबन्धको १३५ मिटर खण्डको काम एसएसबीले रोकेको थियो।
सबै तस्बिर: बर्षा शाह/देशसञ्चार
भर्खरै
लोकप्रिय
