- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि काठमाडाैँका धेरैजसो निजी पेट्रोल पम्प बन्द भएका छन्।
- भद्रकालीस्थित नेपाली सेनाको र नक्साल स्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा सर्वसाधारणको भीड लागेको छ।
- मूल्य घटेसँगै प्रतिलिटरमा पेट्रोल २०, डिजेल/मट्टितेल ३० र हवाई इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ कम गरिएको छ।
काठमाडाैँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा घटाएपछि उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द भएका छन्।
निजी पेट्राेलपम्प बन्द गरिएसँगै भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प र नक्साल स्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा सर्वसाधाणको भीड लागेको छ।
मंगलबार बसेको निगम सञ्चालक समितिको निर्णयानुसार बुधबार बिहान (राति) ००:०१ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो।
साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँले, डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले र एल.पी. ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ ।
यससँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल/मट्टितेलको मूल्य क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गमा १९२ रुपैयाँ ५० पैसा, १९४ रुपैयाँ र १९५ रुपैयाँ कायम भएको छ ।
हवाई इन्धन आन्तरिकतर्फ २२९ रुपैयाँ कायम भएको निगमले जानकारी दिएको छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०६० र आधा सिलिन्डर १०३० रुपैयाँ कायम भएको छ।


भर्खरै
लोकप्रिय
