विश्वकप फुटबलको ज्वरो उत्कर्षमा छ। यस्तोमा अमेरिका पुगेका धेरै विदेशी समर्थकहरूबीच एउटा अनौठो खाद्य ट्रेन्ड चर्चामा छ– ‘र्यान्च ड्रेसिङ सस’। सलाद, पिज्जा, चिकेनदेखि तरकारीसम्म हरेक खानासँग खाने यो क्रिमी र जडिबुटीको स्वाद भएको सस धेरैले यति मन पराएका छन् कि बोतलका बोतल किनेर आफ्नो देश फर्किरहेका छन्। तर, के यो क्रेज साँच्चै वास्तविक हो, कि सामाजिक सञ्जालले सिर्जना गरेको हाइप मात्र? अहिले बहस भइरहेको छ।
इंग्ल्यान्डको गेन्सबरोका केभ फुटिट विश्वकप हेर्न टेक्सासको डलास पुगेका थिए। त्यहाँ एक रेस्टुरेन्टका कर्मचारीले उनलाई चिकेन स्ट्रिप्ससँग र्यान्च सस खान सुझाए। पहिलो पटक चाखेपछि उनी यसको स्वादको प्रशंसक बने। उनले भने, ‘मैले एक पटक खाएँ, स्वाद अविश्वसनीय लाग्यो।’
त्यसपछि उनले अतिरिक्त हाते झोला किनेर त्यसमा र्यान्चका २० बोतल राखे र करिब ३०० अमेरिकी डलर खर्चेर बेलायत पठाए। ‘अब दुई महिनासम्म मेरो रोस्ट डिनर र फिस एन्ड चिप्ससँग यही सस खानेछु,’ उनले हाँस्दै भने।
पछिल्ला केही सातायता विश्वकप हेर्न अमेरिका पुगेका समर्थकहरूले टेटर टोस्ट, टेक्सास ब्रिस्केट, बफेलो विङ्स र रेस्टुरेन्टमा निःशुल्क पेय पदार्थ ‘रिफिल’ (भर्ने) गरिदिने अमेरिकी परम्पराको खुलेर प्रशंसा गरेका छन्। तर, सबैभन्दा धेरै चर्चा भने र्यान्च ड्रेसिङकै भएको छ। धेरैले यससँग फोटो खिचेका छन्, सामाजिक सञ्जालमा अनुभव बाँडेका छन् र आफ्नो देश फर्किँदा बोतलका बोतल बोकेर लगेका छन्।
सामाजिक सञ्जालबाट सुरु भएको चर्चा
जुन ८ मा स्वीडेनकी एल्सा थोराले एक्समा लेखिन्, ‘र्यान्च सस यति स्वादिष्ट रहेछ भन्ने कसैले किन भनेन? युरोपलाई तुरुन्त र्यान्च चाहिन्छ।’ उनको पोस्ट हजारौँ पटक सेयर भयो। त्यसै दिन अमेरिकी ट्रान्सपोर्टेसन सेक्युरिटी एडमिनिसट्रेसन (टिएएस)ले रमाइलो शैलीमा चेतावनी दियो कि यात्रुहरूले चार वटा र्यान्चका बोतल लुकाएर विमानमा लैजान सक्दैनन्। त्यसपछि केही दिनसम्म टिएएसले सुरक्षा जाँचमा छोडिएका र्यान्चका बोतलका तस्बिरसमेत सार्वजनिक गरिरह्यो।
अमेरिकीहरूले विदेशी समर्थकलाई र्यान्च खाने विभिन्न तरिका सिकाउन थाले भने कतिपयले घरमै बनाएर खान सकिने पाउडर र्यान्च किन्न सुझाव दिए। यसबीच विभिन्न खाद्य ब्रान्डहरूले पनि अवसरको फाइदा उठाए। कसैले र्यान्चका साना प्याकेट ल्याउने घोषणा गरे भने कसैले बेलायत फर्कने समर्थकलाई निःशुल्क र्यान्च दिने अभियान चलाए।
र्यान्च के हो?
उत्तर क्यारोलिनास्थित खाद्य इतिहासकार केसी हाइस्मिथका अनुसार र्यान्चका अधिकांश सामग्री मायोनेज, बटरमिल्क, सावर क्रिम, कागती, डिल, पार्स्ली र लसुनको प्रयोग गरेर बनाइएको सस हो। यी अधिकांश सामग्री युरोपबाट आएका हुन्, त्यसैले यसको सामग्री अमेरिकी होइन। सन् १९५० को दशकमा स्टिभ हेन्सनले अलास्कामा काम गर्ने क्रममा पहिलो पटक यो ड्रेसिङ तयार पारे। पछि उनले र उनकी श्रीमतीले क्यालिफोर्नियामा हिडेन भ्याली र्यान्च नामक र्यान्च स्थापना गरे। त्यहाँ आउने पाहुनाले यो सस अत्यन्त मन पराएपछि उनीहरूले यसलाई बिक्री गर्न थाले। पछि यही ब्रान्ड अमेरिकाभर फैलियो।

आज र्यान्च अमेरिकाको सबैभन्दा लोकप्रिय ड्रेसिङमध्ये एक बनेको छ। यो सलाद, पिज्जा, चिकेन विङ्स, फ्राइज, तरकारी, पास्ता र अन्य धेरै परिकारसँग प्रयोग गरिन्छ। अमेरिकी सुपरमार्केटमा र्यान्च स्वाद भएका चिप्स, पपकर्न, क्र्याकर, प्रेट्जेल र अन्य स्न्याकहरू पनि सजिलै पाइन्छन्।
सबैलाई मन परेको छ त?
तर, सबै विदेशी समर्थक र्यान्चका प्रशंसक बनेका छैनन्। न्युयोर्कको टाइम्स स्क्वायरमा भेटिएका केही इंग्लिस समर्थकले आफूले इंग्लिस नखाएको बताए भने कसैले सामाजिक सञ्जालको हल्लामा नलाग्ने प्रतिक्रिया दिए।
लन्डनका डेभ चेम्बर्सले पहिलो पटक पिज्जासँग इंग्लिस खाएपछि भने, ‘यो मलाई अलिकति मेयोनेज, अलिकति मस्टर्ड र थोरै चीज मिसिएको अमिलो ससजस्तो लाग्यो।’ उनले घर फर्किँदा इंग्लिस लैजाने वा फेरि अमेरिका आएर खाने कुनै योजना नभएको पनि बताए।
मार्केटिङ कि वास्तविक लोकप्रियता?
कतिपयले यो सबै खाद्य कम्पनीहरूको मार्केटिङ रणनीति मात्र भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा भाइरल भएका केही भिडियो त वर्षौँअघिका पुराना भिडियो पुनः पोस्ट गरिएका पनि भेटिएका छन्। यद्यपि, खाद्य प्रवृत्ति विश्लेषक सुजी बदाराको भने विश्वकपका कारण र्यान्चप्रतिको उत्साह वास्तविक भएको बताउँछिन्।
उनका अनुसार भाइरल भिडियोहरूले नयाँ रुचि सिर्जना गरेका होइनन्, बरु मानिसहरूले अमेरिकामा प्रत्यक्ष अनुभव गरेको स्वादलाई अझ धेरै फैलाएका हुन्। यस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताले लाखौँ मानिसलाई पहिलो पटक नयाँ परिकार चाख्ने अवसर दिने उतको तर्क छ। यसको प्रभाव बेलायतमै पनि देखिन थालेको छ। हेल्म्यान्सका अनुसार जुन महिनामा र्यान्चको बिक्रीले नयाँ कीर्तिमान बनाउने संकेत देखिएको छ भने हाइन्जले प्रतियोगिता सुरु भएयता बेलायतमा र्यान्चको बिक्री करिब ५ प्रतिशत बढेको जनाएको छ।
विश्वकप समाप्त भएपछि यो लोकप्रियता कति समय टिक्छ भन्ने अझै स्पष्ट छैन। तर, अमेरिका पुगेर पहिलो पटक र्यान्चको स्वाद चाखेका धेरै समर्थकका लागि भने यो सस सधैँ अमेरिकी खानपानको प्रतिनिधि स्वादका रूपमा सम्झिने अनुभव बन्ने निश्चित देखिन्छ।
भर्खरै
लोकप्रिय
