- सभापति गगनकुमार थापाले शिक्षा सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न आवश्यक रहेको बताएका छन्।
- उनले जारी राजनीतिकरणले विद्यालय व्यवस्थापन समितिहरू शिक्षा प्रणालीको गिरावटको प्रमुख कारण बनेको औंल्याएका छन्।
- शिक्षा क्षेत्रको भूमिकाबारे गम्भीर बहसको आवश्यकता रहेको पनि उनले जोडदार रूपमा प्रतिपादन गरेका छन्।
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभापति थापाले विद्यमान राजनीतिकरण र दलीयकरण शिक्षा क्षेत्रको सुधार नहुनुको प्रमुख कारण भएको बताएका हुन्।
विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले मुलुकको शिक्षा प्रणाली धराशायी भएको उनको भनाइ छ।
यद्यपि, शिक्षा आफैँमा राजनीतिक मुद्दा भएकाले समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्न सक्ने भूमिकाबारे गम्भीर बहस आवश्यक रहेको उनले बताए।
उनले भने, ‘शिक्षामा राजनीति भयो भनिन्छ। शिक्षामा राजनीति भएन भन्छु म। शिक्षामा दलीयकरण भयो। हामीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो। हामीले गाउँतिर गएर फलानो विद्यालयको अवस्था कस्तो छ? भनेर सोध्यो भने त्यो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक हाम्रै मान्छे हो भन्ने गरेको सुन्छु। शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हाम्रै मान्छे हो भन्ने तरिकाबाट हामी बाहिर निस्कनुपर्यो। त्यो राजनीति होइन, त्यो दलीयकरण हो। शिक्षामा दलीयकरणले सबैभन्दा ठूलो समस्या लिएर आयो।’
उनले मुलुकको समृद्धि र विकासका शिक्षा क्षेत्रले खेल्न सक्ने भूमिका र योगदानबारे राजनीतिक वृत्तमा पर्याप्त बहस हुनु आवश्यक रहेको बताए। उनले सरकारले हतारमा परीक्षाफल प्रकाशित गर्ने र छिटो परीक्षाफल प्रकाशित हुनु ठूलो उपलब्धि ठान्ने सोचले हजारौँ विद्यार्थी समस्यामा परेको समेत बताए।
भर्खरै
लोकप्रिय
