- आज आइतबार दिउँसो १ बजे लुम्बिनी प्रदेश सभामा बजेटमाथि सैद्धान्तिक छलफल गर्न बैठक बस्ने तय भएको छ ।
- सत्तापक्षीय सांसदहरूबीचको द्वन्द्वका कारण बजेट छलफलमा असन्तुष्टि हुँदा बैठक नियमित रूपमा सञ्चालन हुन सकेन ।
- आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रश्नहरूको जवाफ दिएपछि विनियोजन विधेयक सभामा पेश गरिनेछ ।
दाङ- लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३\८४ का लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न आज आइतबार प्रदेश सभाको बैठक बस्दैछ ।
प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सरकारले प्रस्तुत गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएपछि यसअघि बैठक नियमित रूपमा सञ्चालन हुन सकेको थिएन ।
बजेटको वितरण, योजना छनोट तथा स्रोत बाँडफाँटप्रति सत्तापक्षकै केही सांसदले असन्तुष्टि व्यक्त गरेपछि बजेटमाथिको छलफल प्रभावित बनेको थियो ।
विभिन्न चरणको आन्तरिक छलफल र सहमतिपछि आजको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल अघि बढाउन थालिएको हो ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलमा भाग लिनेछन् ।
छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूची रहेको छ । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले विनियोजन विधेयक सभामा पेश गर्नेछन् ।
यसैगरी सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्परा सम्बन्धी विधेयक’लाई विषयगत समितिमा पठाउने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ ।
भर्खरै
लोकप्रिय
