- कांग्रेस सभापति गगन थापाले सरकारलाई लोकप्रियतामा सीमित रहेको भन्दै नागरिक समस्याको समाधानमा ध्यान नदिएको दाबी गरे।
- थापाले भूमिहीनको समस्या समाधानमा सरकारले वैकल्पिक योजनाबिना डोजर आतंक मच्चाइएको भन्दै आलोचना गरे।
- थापाले संविधान संशोधनमा हतार नगरी राज्यका संस्थालाई बलियो बनाउन ध्यान दिन सरकारलाई चेतावनी दिए।
काठमाडौँ – कांग्रेसका सभापति गगन थापाले सरकारलाई नागरिकको जनजीवनका समस्या समाधानभन्दा लोकप्रियताको बढी चिन्ता रहेको दाबी गरेका छन्।
आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित सरकारको सय दिन र १०० बुँदे कार्यक्रमबारे पार्टी संयन्त्रको समीक्षामा थापाले सरकारको कार्यशैली नागरिकको उठिबास लगाएर सामाजिक सञ्जालमा चर्चा कमाउने कार्यमा सीमित रहेको उल्लेख गरेका हुन्।
थापाले भूमिहीनको समस्या समाधान गर्नु राज्यको दायित्व भएपनि वैकल्पिक व्यवस्थापनबिना टोल टोलमा डोजर आतंक मच्चाएको बताए।
‘यो सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता छ । सरकारलाई वास्तविक जीवनको सवालभन्दा पनि लोकप्रियताको चिन्ता रहेको पाउँछौँ । यसलाई उदाहरणबाट पनि बुझ्न सकिन्छ । नेपालमा भूमिहीनको समस्या संरचनागत समस्या हो । लामो समयदेखि छ । संविधान निर्माणनको समयमा म स्वयं सदस्य समेत रहेको र समितिको संयोजक नै भएर काम गरेको कारणले गर्दा म त्यो समयमा भएका छलफलहरु याद गर्छु, थापाले अगाडि भने,
‘हामीले जतिखेर दलितको हक लेखेका छौँ । भूमिहीन दलितले प्राप्त गर्ने विशेष अधिकारको बारेमा छुट्टै लेखेका छौँ । अहिले सरकारले व्यवस्थापन गर्ने भनेर उठिबास लगाइदिएको छ, टोल टोलमा डोजर पुर्याएको छ । यो प्रक्रियागत भएन।’
उनले प्रधानमन्त्री बालेन्द्र साहले सिंहदरबारबाट गर्नुपर्ने शासकीय सुधारका कामहरु सिंहदरबारबाटै सञ्चालन गर्नेकुरा हेर्दा सामान्य भएपनि सकारात्मक संकेत भएको टिप्पणी गरे।
यस्तै थापाले संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै ‘लफङ्गा’ पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी बताए। सरकारले संविधान संशोधनको नाममा संविधान निर्माणको क्रममा राखिएका सुक्ष्म पक्षलाई हलुका रुपमा लिइरहेको टिप्पणी गरे।
संविधान संशोधन र पुनरावलोकन आवश्यक भएपनि हतार, हचुवा र गैरजिम्मेवार शैलीमा अघि नबढाउन सरकारलाई चेतावनी समेत दिए। सभापति थापाले संविधान संशोधनमार्फत राज्यका संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए।
‘संविधान र यो व्यवस्थाको सन्दर्भमा यो सरकारको निष्ठामा कमी । हामीले संविधान बनाउँदै गर्दाका सुक्ष्म (न्युअन्स) पक्षहरुलाई सरकार सञ्चालन गर्ने साथिहरुले पटक्कै पनि ख्याल गरिरहनुभएको छैन । त्यसमा ध्यान दिइरहनुभएको छैन, थापाले अगाडि भने, ‘हामीले त हाम्रा संस्थाहरुलाई बलियो बनाउने हो नि त । संविधान संशोधन र पुनरावलोकन एकदमै गर्नुपर्नेछ । तर यस्तो हचुवा पाराले होइन ।’
उनले भाषा, समावेशिता र विविधतालाई सम्बोधन गर्ने विषय सबैभन्दा महत्वपूर्ण भएकाले सरकारले यी विषयलाई ‘लफङ्गा’ पाराले जे मन लाग्यो त्यही बोलिएको उल्लेख गरे।
भर्खरै
लोकप्रिय
