काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संघीयता, समावेशिता र धर्मनिरपेक्षताजस्ता संविधानका आधारभूत संरचनामा कुनै पनि किसिमको हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले संविधान संशोधनको बहस चलिरहँदा यी आधारभूत स्तम्भहरूमा फेरबदल गरिए मुलुकमा गम्भीर दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका हुन्।
अब मुलुकमा रगतको होइन, पसिनाको क्रान्ति आवश्यक रहेको उनले बताए। उनले देशमा रोजगारीको अभावमा हजारौँ युवा विदेशिनु परेको यथार्थलाई औंल्याउँदै स्वदेशमै भविष्य खोज्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे।
अध्यक्ष राईले दार्चुलाको टिङ्कर सडकको नाजुक अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले राष्ट्रिय गौरवका योजनाहरू सीमा क्षेत्रमा केन्द्रित गर्न र टिङ्कर सडक निर्माणलाई तिव्रता दिन माग गरे। अध्यक्ष राईले ठगहरूको सम्पत्ति जफत गरेर मात्र वचतकर्ताको पैसा फिर्ता गर्नुपर्ने धारणा राखे।
राज्यकोषको रकमबाट सहकारीको दायित्व व्यहोर्नु गलत हुने बताउँदै उनले दोषीमाथि गरिएको कारबाही र असुलउपर गरिएको रकमको विवरण सार्वजनिक गर्न माग गरे।
यस्तै, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पुनर्वासको व्यवस्था नगरी उनीहरूलाई हटाउन नहुने र लालपुर्जा वितरणमा राजनीतिक पूर्वाग्रह राख्न नहुने उनको भनाइ छ।
भर्खरै
लोकप्रिय
