- अभिषेक गिरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार राति विराटनगर विमानस्थलबाट पक्राउ गरी काठमाडौं ल्याएको हो।
- मोरङ जिल्ला अदालतले उनलाई थुनामुक्त गरि अनुसन्धान अघि बढाउन आदेश दिएपनि अर्को मुद्दामा फिर पक्राउ गरियो।
- गिरीसँगै पक्राउ परेका तीन सहयोगीलाई भने थप सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
माेरङ – आपराधिक लाभ मुद्दामा थुनामुक्त भएका विराटनगरका अभिषेक गिरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पुनः पक्राउ गर्दै काठमाडौं लगेको छ।
गिरीलाई सोमबार राति विराटनगर विमानस्थलबाट काठमाडौं लगिएको हो। जिल्ला कारागार मोरङका कैदीबन्दीको आर्थिक हिनामिना गरेको आरोपमा पक्राउ परेका गिरीलाई सोमबार मोरङ जिल्ला अदालतले थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो।

उनलाई अदालतले आदेश दिएसंगै प्रहरीले भ्यानमा राखेर विमानस्थल लगेको थियो। मोरङ प्रहरीका अनुसार काठमाडौंमा गिरीविरुद्ध एक अर्को मुद्धामा पक्राउ पुर्जी जारी भएको हुँदा केन्द्रीय अनुसन्धान ब्यूरोसमक्ष जिम्मा लगाएको हो।
यसअघि, सोमबार अदालतमा पेश गरिएको गिरीको सन्र्दभमा अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले प्रहरी पक्राउ परेका गिरीलाई थुना बाहिर राखेर अनुसन्धान अघि बढाउन आदेश भएको जानकारी दिए । सोमबार अदालतमा पेश गरिएका गिरीलाई अदालतबाट बाहिर निस्कनसाथ केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो।
सूचना अधिकारी बुढाथोकीका अनुसार अदालतका न्यायाधीश टंकबहादुर महतको एकल इजलासले उच्च अदालतले दिएको आदेशलाई सदर गर्दै गिरीलाई थुनाबाहिर नै राखेर अनुसन्धान गर्न आदेश भएको हो ।
असार १७ गते उच्च अदालतले गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरे पनि प्रहरीलाई पाँचदिन अनुसन्धानका लागि समय दिएको थियो ।
सो समय सोमबार नै सकिएको छ । यस अवधिमा प्रहरीलाई अनुसन्धान सकेर अभियोग पत्र दर्ता गर्न वा नसकिए थुनामुक्त गरि बाहिर राखेर अन्य प्रक्रिया अघि बढाउन उच्च अदालतले निर्देश गरेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा उपस्थित गराएको थियो।
गिरीसंगै पक्राउ परेका तीन जना सहयोगी सञ्जय मण्डल, विजय कामत र विनोदकुमार सिंहलाई थप सात दिन थुनामा राख्न आदेश भएको छ । गिरीलाई गत असार १३ गते विराटनगर ८ स्थित घरबाटै नियन्त्रणमा लिएको थियो।
भर्खरै
लोकप्रिय
