- सांसद राजेन्द्रकुमार राईले सभामुख डोलप्रसाद अर्यालले आफू बोल्दै गर्दा माइक काटेको आरोप लगाएका छन्।
- संसद बैठकमा गरम रापमा माइक काट्दा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।
- राईले प्रधानमन्त्री बालेन्द्र शाहमाथि संसदप्रति उत्तरदायी नभएर विधि मिच्ने आरोप समेत लगाए।
काठमाडौँ- प्रतिपक्ष दल नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुख डोलप्रसाद अर्यालले आवेशमा आएर आफूले बोल्दै गर्दा माइक काटेको भन्दै गुनासो गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा ‘सभामुखज्यूले कान सुन्नुहुन्छ कि हुन्न?’ भनी अभिव्यक्ति दिन सुरु गरेपछि सभामुख अर्यालले माइक काट्दै बोल्न रोक लगाएका थिए। सोही कारण संसद बैठक १५ मिनेटका लागि स्थगित नै गरिएको थियो।
संसदको दोस्रो बैठकमा फेरि बोल्ने समय पाएका सांसद राईले आफूले भनेको शब्द समेत सुन्न नपाई सभामुख अर्यालले आवेशमा आएर माईक काटदा समस्या भएको जिकिर पनि गरे। उनले आफ्नो सभामुख अर्यालप्रति सधै सम्मान रहेको पनि दोहोर्याए।
‘तपाईँलाई मेरो सम्मान छ, आदर छ। यत्रो जनताले चुनेर आएको सभामुख हो। तर मलाई के मनका लाग्यो भने मैले भाषा मिलाउन खोज्दै थिए, कुरा गर्न खोज्दै थिए। तपाईँले भनेको म मान्दै थिए। तर त्यसो नगर्दा राम्रो हुन्थ्यो। मलाई के लाग्यो भने यत्रो सदनमा यत्रो माननीयज्यूहरु हुनुहुन्छ। कसैले कुरा गर्दाखेरी आफनो भावना त राख्न पाउनुपर्यो नि। यो विधिमा नै थियो। विधिभन्दा बाहिर थिएन। विधि मिच्ने काम सरकारले गरिराखेको छ। संसदमा डाक्दा नआउने सरकार कस्तो हुन्छ? जवाफ दिनुपर्छ भन्दा प्रधानमन्त्री आउनु परेन। यसका लागि बहुत दमदार ढंगले कुरा राख्ने इच्छा थियो मेरो आज। तर मेरो कारणले १५ मिनेट स्थगित भयो,’उनले थपे,’सबै माननीयज्यूहरुले पनि भन्नु भयो, तपाई सधैं स्थगित गर्नु हुन्छ। म एउटा कुरा भन्न चाहन्छु–हामी सत्यको पक्षमा, सामाजिक न्यायको पक्षमा, जहिले पनि बोल्दै आएको हुनाले मैले अघि भाषा मिलाउन खोज्दै थिए । त्यतिबेला म आत्तिएको थिइन। मैले भनेको शब्द नै सुन्न नपाई सभामुखज्यूले माईक काटिदिनु भयो । यसमा म के भन्न चाहन्छु भने कतिपय कुराहरु आवेगमा आउँदा पनि समस्या हुँदो रहेछ।’
त्यस अवसरमा सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदप्रति उत्तरदायी नभएर विधि मिच्ने काम गरेको आरोप पनि लगाए।
भर्खरै
लोकप्रिय
