- सभामुख डोलप्रसाद अर्यालले जेठ १७ गतेको घटनाबारेको प्रतिवेदन कार्यान्वयन गर्न संसद सचिवालयलाई दबाब दिएका छन्।
- विभिन्न दलका विरोधका बाबजुद सभामुखले नियमावली पारित गर्दा भएको धकेलाधकेलको छानबिन समिति गठन भएको थियो।
- प्रतिवेदनमा घटना विवरण भए पनि कुनै सांसदलाई कारबाही सिफारिस नगरी सभामुखलाई कार्यान्वयनका लागि जिम्मा दिइएको छ।
काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले जेठ १७ गते संसदमा भएको घटनाबारे छानबिन गर्न गठिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न दबाब दिएका छन्।
प्रतिनिधिसभाको नियमावली पारित गर्ने क्रममा सभामुख अर्यालले विरोधको बेवास्ता गर्दै प्रक्रिया अगाडि बढाएपछि विपक्षी दलहरुले वेल घेराउ गरेका थिए।
सत्ता पक्षीय रास्वपाको स्वार्थमा राखिएका केही प्रावधानप्रति विपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम, राप्रपासहितका दलले विरोध गर्दा दुई पक्षबीच धकेलाधकेल भएको थियो।
त्यस विषयमा छानबिन गर्न संसदबाटै सभामुख अर्यालले प्रतिनिधिसभाको सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए। तोकिएको सातै दिनभित्र प्रतिवेदन दिएको समितिले त्यस दिन संसदमा भएको घटनाको वर्णन मात्रै प्रतिवेदनमा समेटेको छ।
भिडियो हेरेर समितिले बैठककमा के के भयो भन्ने उल्लेख गरे पनि कुनै पनि सांसदलाई कारबाही गर्न सिफारिस गरेको छैन। तर पनि सभामुख अर्यालले उक्त प्रतिवेदन कार्यान्वयन गर्न सचिवालयलाई दबाब दिएका हुन्।
प्रवक्ता एकराम गिरीले प्रतिवेदन कार्यान्वयनका लागि प्राप्त भएको जानकारी दिए।
उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘…समितिले २०८३।०२।२५ मा सम्माननीय सभामुखसमक्ष प्रतिवेदन प्रस्तुत गरिसकेको र सम्माननीय सभामुखबाट उक्त प्रतिवेदन अध्ययनपश्चात् आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई प्राप्त भएको वेहोरा जानकारी गराइन्छ ।’
भर्खरै
लोकप्रिय
