काठमाडौँ – प्रतिपक्षी दल नेकपा एमालेले सरकारले एक चीन नीति विपरीतका गतिविधिलाई प्रश्रय दिएको भन्दै आपत्ति जनाएको छ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन सरकारले अनुमति दिएको भन्दै आपत्ति जनाएका हुन्।
असार २२ गते स्वयम्भूस्थित नामग्याल निम्न माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रमले नेपाल र चीनबीचको सुमधुर सम्बन्धमा आँच पुर्याएको उनको भनाइ छ। प्रमुख सचेतक महरले उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अष्ट्रेलियाली राजदूतहरूको उपस्थिति हुनुलाई अर्थपूर्ण र गम्भीर विषय भएको बताए।
नेपालको भूमि छिमेकी राष्ट्रहरूका विरुद्ध प्रयोग हुन नदिने राष्ट्रिय प्रतिबद्धताविपरीत सरकारले राष्ट्रहित प्रतिकूल र अपरिपक्व नीति लिएको उनको आरोप छ। यसै सन्दर्भमा चीनका लागि नेपालका सात जना पूर्व राजदूतहरूले समेत विज्ञप्तिमार्फत विरोध जनाएको स्मरण गराउँदै महरले सरकारको नियतमाथि प्रश्न उठाए।
उनले भने, ‘पश्चिमा शक्तिहरू नेपाललाई चीनविरोधी अखडा बनाउन र मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने षडयन्त्रमा लागिरहेको यस घटनाले पुष्टि गरेको छ। के वर्तमान सरकार एक चीन नीतिको विरुद्धमा उभिएको हो? के सरकारले पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिलाई परित्याग गरेको हो? यसबारे सरकारले सदनलाई स्पष्ट पार्नुपर्छ।’
परराष्ट्र नीतिका सन्दर्भमा सरकारले केटाकेटीपन देखाएको टिप्पणी गर्दै महरले छिमेकीसँगको सम्बन्धमा सजग, गम्भीर र जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराए। छिमेकी राष्ट्रसँगको सम्बन्धलाई खेलौनाको रूपमा नलिन र नेपालको सर्वोपरी हितमा काम गर्नसमेत उनले आग्रह गरे।
भर्खरै
लोकप्रिय
