काठमाडौँ – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले विधि र प्रक्रियाबाट मात्रै संविधान संशोधन सम्भव रहेको बताएकी छन्।
बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा उनले संविधानको रक्षाका लागि विधि र प्रक्रियाबाट मात्रै संशोधन अगाडि बढ्नुपर्ने बताएकी हुन्।
नेपाली कांग्रेसले संविधानका न्यूनतम आधारभूत मूल्य र मान्यतालाई आत्मसात गर्दै आफ्नो दृष्टिकोण तय गरिरहेको जानकारी दिँदै उनले राजनीतिक रूपान्तरणका उपलब्धिहरू जोगाउन पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
उनले भनिन्, ‘नेपाली कांग्रेसले यो संविधान धेरै ठूलो अधिकारको लागि लडेर बनेको हो। संघीय लोकतान्त्रिक गणतन्त्रबाट राजनीतिक रूपान्तरण भएको यो संविधानको रक्षाको लागि, यो संविधानको संरक्षणको लागि विधि र प्रक्रियाबाट अगाडि बढ्नुपर्दछ। विधि र प्रक्रियाबाट मात्रै यो संविधानको संशोधन सम्भव छ भन्ने कुरालाई मलाई लाग्छ।’
उनले आगामी तीनै तहको निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न पार्टी नेतृत्वसँग आग्रह गरिन्। उपसभापति भुसालले समावेशिता र समानुपातिक प्रतिनिधित्वको संवैधानिक मर्मलाई आत्मसात गर्दै कांग्रेसले महिला सहभागितामा ठोस कदम चाल्नुपर्ने बताइन्।
उनले वडा अध्यक्षदेखि पालिका प्रमुख, प्रदेश सभा र प्रतिनिधि सभासम्मकै प्रत्यक्ष निर्वाचनमा महिलाहरूलाई ३३ प्रतिशत उम्मेदवार बनाउनुपर्नेमा जोड दिइन्।
भर्खरै
लोकप्रिय
