- कुलमान घिसिङले गणेश नेपालीको मृत्युले राज्यको संवेदनशीलता र नागरिकप्रतिको दायित्वमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
- घिसिङले आत्मदाह प्रयासबाट ज्यान गुमाएका नेपालीको घटनालाई राज्यप्रति घट्दो भरोसाको संकेतको रूपमा देखेका छन्।
- उनले नागरिकलाई सम्मानपूर्वक बाँच्ने अवसर दिन राज्यले न्यायपूर्ण र मानवकेन्द्रित नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले गणेश नेपालीको मृत्युको घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई राज्यको संवेदनशीलता र नागरिकप्रतिको दायित्वमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्त गर्दै घिसिङले राज्यको विभेद र भौगोलिक रूपमा दशकौँदेखि पछाडि पारिएको कर्णालीको मुगुबाट हजारौँ सपना बोकेर राजधानी आएका एक संघर्षशील युवाले आत्मदाहको प्रयासपछि ज्यान गुमाउनुपरेको घटनाले आफू स्तब्ध र भावविह्वल भएको उल्लेख गरेका छन्।
उनले ‘राइड सेयरिङ’मार्फत आफ्नो र परिवारको जीविकोपार्जन गरिरहेका एक युवालाई राज्यका नीति, प्रशासनिक व्यवहार र परिस्थितिले निराश बनाएको भन्दै यो घटना केवल एक व्यक्तिको मृत्यु नभई राज्यप्रति नागरिकको घट्दो भरोसाको संकेत भएको बताएका छन्।
उनले गरिब, निमुखा वा दुर्गम क्षेत्रमा जन्मिनु कुनै अपराध नभएको तथा इमानदारीपूर्वक श्रम गरेर सम्मानपूर्वक बाँच्न खोज्नु पनि अपराध हुन नसक्ने उल्लेख गर्दै पछिल्ला दिनहरूमा राज्यका नीति र व्यवहारले गरिब, श्रमिक तथा सुकुम्बासीलाई झन् बढी हतोत्साहित र विस्थापित गरिरहेको अनुभूति बढ्दै गएको बताएका छन्।
घिसिङका अनुसार राज्यको पहिलो दायित्व नागरिकलाई सम्मानका साथ बाँच्ने अवसर, आशा र सुरक्षा प्रदान गर्नु हो, निराशा होइन। उनले यस्ता पीडादायी घटना पुनः दोहोरिन नदिन राज्यले संवेदनशील, न्यायपूर्ण र मानवकेन्द्रित नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।
उनले हरेक नागरिकले आफ्नो श्रम, सम्मान र अधिकारसहित बाँच्न पाउने वातावरण निर्माण गर्नु नै साँचो लोकतन्त्रको परिचय हुने बताएका छन्।
भर्खरै
लोकप्रिय
