- कोशी अस्पतालले स्वामित्वको जग्गा खाली गराउन २६ व्यवसायिक सटर भत्काउने निर्णय गरेको छ।
- अस्पतालले स्वास्थ्य सेवाको विस्तारमा विवादित सटर भत्काउन जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको बताइएको छ।
- गणेश मन्दिर, क्षयरोग, रक्तसञ्चार, देवकोटा पुस्तकालयको २६ सटर हटाउन सोमबारदेखि कार्य प्रारम्भ गरिनेछ।
कोशी अस्पतालले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गराउन २६ वटा व्यावसायिक सटर भत्काउने जनाएको छ।
शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चन्द्रभाल झाले अस्पतालको जग्गामा निर्माण भएका संरचनामा रातो चिह्न लगाइएको र सोही अनुसार भाडामा लगाइएका सटर भत्काउन जिल्ला प्रशासन कार्यालय मोरङलाई आग्रह गरेको बताए।
अस्पतालले नियतबस ती संरचना भत्काउन नलागेको बताएका मेसु झाले स्वास्थ्य उपचार सेवाको विस्तार गर्ने क्रममा विवादीत सटर भत्काउन लागिएको बताए।
हाल अवस्थित मुख्य गरि क्षयरोग, रक्तसञ्चार केन्द्र, देवकोटा पुस्तकालय, गणेश मन्दिरको मूल भवन भने नभत्किने उनको भनाइ छ।
उनले भने, ‘अहिले मुख्यगरी सञ्चालनमा रहेका संस्थाका मुल भवन भत्किदैनन्। तथापि, ती संस्थाले व्यावसायिक प्रयोजनका लागि लगाएका भाडाका सटरमा भने सोमबारबाट डोजर चल्नेछ।’
यसक्रममा गणेश मन्दिर परिषरमा रहेका पाँच वटा सटर, क्षयरोग निवारण संस्थाका ९, रक्तसञ्चार सेवा केन्द्रका ६ र देवकोटा पुस्तकालय अन्तर्गतका ६ वटा सटर भत्किने अस्पताल प्रशासनले जनाएको छ।
पत्रकार सम्मेलनमा अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुईटेलले अस्पतालले संरचना खाली गर्नका लागि दिइएको सातदिने म्याद आइतबार सकिने र ती संरचना भत्काउने कार्य अघि बढाउने बताए।
विराटनगर ७ स्थित अस्पतालको कित्ता नम्बर ११, १२, १५, २२, २३ र २६ मा रहेका जग्गामा अस्पताल स्थापना हुनु अघिबाटै ती संस्था चल्दै आएका हुन्।
अस्पतालको स्वामित्वमा रहेको जग्गाबाट ती संरचना हटाउनका लागि विगतमा प्रयास भएका थिए। तर त्यसले पूर्णता लिन भने सकेको थिएन। हाल सरकार स्वास्थ्य तथा स्वच्छता मन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले केही दिनअघि विवादीत जग्गाको विषयमा तत्काल हटाउनका लागि अस्पताललाई निर्देशन दिएका थिए।
भर्खरै
लोकप्रिय
