- डा. महावीर पुनले ट्राफिक जरिवानाबारे दिएको गलत अभिव्यक्तिका लागि माफी माग्दै आफ्नो टिप्पणी फिर्ता लिएका छन्।
- पत्रकारहरूले फिर्ताका लागि दबाब दिएकाले पुनले जरिवानासम्बन्धी आफ्नो पूर्व अभिव्यक्तिलाई गलत रूपमा प्रस्तुत गरिएको बताए।
- आगामी एक वर्षसम्म ठूला-साना युट्युबर र पत्रकारलाई अन्तर्वार्ता नदिने निर्णय पुनले आजै सार्वजनिक गरे।
काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले ट्राफिक जरिवानाका विषयमा आफूले दिएको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण दिँदै माफी मागेका छन्।
केही दिनअघि सामाजिक सञ्जालका पत्रकार (युट्युबर) हरूलाई अन्तर्वार्ता दिने क्रममा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गर्नुपर्छ भनी आफूले बोलेको कुरा फिर्ता लिँदै उनले माफी मागेका हुन्।
आफ्नो आधिकारिक सामाजिक सञ्जालमा एक ‘कडा घोषणा’ पोस्ट गर्दै पुनले उक्त अन्तर्वार्ताका क्रममा पत्रकारहरूले आफूलाई ट्राफिक जरिवाना सम्बन्धी कुरामा केही थाहा छैन भन्दाभन्दै पनि कोट्याई-कोट्याई सोधेको उल्लेख गरेका छन्।
उनले आफूले ट्राफिक नियम अटेर गर्नेलाई आवश्यक जरिवाना गर्नुपर्छ मात्र भनेको र ५० हजारको प्रसंग पत्रकारहरूले नै निकालेको स्पष्ट पारेका छन्।
सो अभिव्यक्तिबाट अज्ञानवश कसैलाई चोट पुगेको भए माफ गर्न आग्रह गर्दै उनले अटेर गर्नेहरूलाई मुटुमा हात राखेर सोच्न समेत भनेका छन्।
यसै घटनालाई लिएर मन्त्री पुनले आजैका मितिदेखि लागू हुने गरी आगामी एक वर्षसम्म कुनै पनि ठूला-साना युट्युबर, सामाजिक सञ्जाल तथा पत्रकारहरूलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।
अति महत्त्वपूर्ण सार्वजनिक महत्त्वका विषयबाहेक अन्य कुनै पनि सन्दर्भमा एक शब्द पनि अन्तर्वार्ता नदिने उनको दृढता छ।
नियम अटेर गर्ने र अपराध गर्नेहरूलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नगरे देश र समाज कस्तो होला भनी उनले प्रश्न समेत गरेका छन्।
भर्खरै
लोकप्रिय
