- बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ।
- सम्मेलनमा नेपाल, भारत र बंगलादेशका चिकित्सकहरूले मोलिक्युलर इमेजिङ र क्यान्सर उपचारमा अत्याधुनिक प्रविधिबारे छलफल गरे।
- डा. चौधरीका अनुसार, सम्मेलनले पूर्वी नेपालका स्वास्थ्यकर्मीलाई अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग प्रत्यक्ष ज्ञान आदानप्रदानको अवसर प्रदान गर्यो।
मोरङ – बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ। अस्पतालको न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजित इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन–बीएमसीटीएच सम्मेलन नेपालमै पहिलोपटक गरिएको हो।
इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो नारासहित हुने सम्मेलनमा मोलिक्युलर इमेजिङ, थेरानोस्टिक्स, रेडियोआइसोटोप थेरापी तथा क्यान्सर उपचारमा विकसित अत्याधुनिक प्रविधिबारे नेपाल, भारत र बंगलादेशका चिकित्सकहरुबीच छलफल भएको थियो।

सम्मेलनमा भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर, नयाँ दिल्लीबाट प्रा. डा. मनोज गुप्ता, बंगलादेशबाट प्रा. डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा. डा. सनोवार हुसैन, प्रा. डा. फारिया नर्सिन र प्रा. डा. जास्मिन आरा हक सहभागी भएका थिए।
जहाँ नेपालका तर्फबाट बीएमसीटीएचका डा. अमरदीप चौधरीसहित डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसीले कार्यपत्र प्रस्तुत तथा आफ्ना अनुभव र ज्ञान साझा गरेका थिए।
विराट शिक्षण अस्पतालले पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना गरिसकेको छ।
पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि आवश्यक हाइपेक सेवा पनि पूर्वमै पहिलोपटक सोही अस्पतालमा सञ्चालनमा आइसकेको छ। सम्मेलनबाट पूर्वी नेपालका स्वास्थ्यकर्मीलाई अन्तर्राष्ट्रिय विशेषज्ञसँग प्रत्यक्ष ज्ञान आदानप्रदान गर्ने अवसर उपलब्ध भएको डा. चौधरीले जानकारी दिए।
डा. चौधरीका अनुसार अत्याधुनिक प्रविधि र उपचार पद्धति स्थानीय स्तरमै विस्तार हुने, उपचार सेवाको गुणस्तर अभिवृद्धि हुने तथा क्यान्सरलगायत जटिल रोगका बिरामीलाई काठमाडौं वा विदेश जानुपर्ने बाध्यता क्रमशः घट्ने अपेक्षा गरिएको छ।
सम्मेलनमा काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, मोरङलगायत देशका विभिन्न जिल्लाबाट चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित क्षेत्रका करिब ३ सय बढी सहभागी रहेको आयोजकले जनाएको छ।
भर्खरै
लोकप्रिय
