- कोशी अस्पताल विराटनगरले भौतिक संरचनाहरू भत्काउन सुरु गर्दै २६ व्यापारिक सटरहरू पहिलो चरणमा भत्काइयो।
- स्वास्थ्य तथा स्वच्छता मन्त्री र गृहमन्त्रीले स्थलगत निरीक्षणपछि सात दिनभित्र संरचना खाली गर्न निर्देशन दिएका थिए।
- अस्पतालले स्वामित्वमा लिएका क्षेत्रमा घेराबेरा लगाउने तयारी गर्दै बाँकी संरचनाहरू पनि खाली गराउन प्रयासरत छ।
विराटनगर- कोशी अस्पताल विराटनगरले आफ्नो स्वामित्वमा निर्माण गरिएका भौतिक संरचनाहरू भत्काउन सुरु गरेको छ।
लामो समयको विवादपछि सोमबार बिहानैदेखि विभिन्न संघ-संस्थाले अस्पतालको क्षेत्रभित्र अवैध रूपमा निर्माण गरेका संरचनाहरू जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भत्काउन थालिएको हो।
ती संरचनाहरूमा औषधि पसल, खाजा पसल, फोटो स्टुडियो लगायतका विभिन्न व्यवसायहरू सञ्चालनमा रहेका थिए।
अस्पताल प्रशासनका अनुसार अस्पताल क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचनाहरू मध्ये पहिलो चरणमा २६ वटा व्यापारिक सटरहरू भत्काउन लागिएको हो।
यसका लागि अस्पतालले केही दिनअघि नै भत्काइने सटरहरूमा रातो संकेत (क्रस चिह्न) समेत लगाएको थियो।
सोमबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा, सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीको प्रत्यक्ष उपस्थितिमा ती खाली गरिएका सटरहरू भत्काइयो।

अस्पतालका मेसु डा. चन्द्रभाल झाले सो स्थानमा रहेका संघ-संस्थाहरूलाई लामो समयदेखि संरचना खाली गरिदिन आग्रह गर्दै आएको र हाल खाली गराएपछि डोजर लगाएर भत्काएको बताए।
उनले भत्काइएका संरचनाहरूको क्षेत्रलाई अस्पतालले आफ्नो परिसरभित्रै समेट्नका लागि तत्काल पर्खाल लगाउने तयारी गरिरहेको जानकारी दिए।
डा. झाले भने, “अहिले अस्पतालको स्वामित्वमा आएका संरचनाहरूलाई सुरक्षित बनाउन घेराबेरा (पर्खाल) लगाउने छौँ, जसका लागि चाँडै निर्माण कार्य सुरु हुनेछ। त्यसपछि बाँकी रहेका अन्य संरचनाहरूको विषयमा पनि उनीहरूलाई चाँडै ठाउँ खाली गरिदिन आग्रह गरिसकेका छौँ।”
हाल अस्पतालको स्वामित्वभित्र क्षयरोग निवारण संस्था मोरङ, रेडक्रसको ब्लड बैंक र देवकोटा पुस्तकालयको संरचना कायमै रहेको छ।

यसबारे जानकारी दिँदै मेसु डा. झाले भने, “हामीले क्षयरोग कार्यालयलाई पनि जानकारी गराइसकेका छौँ। उनीहरूले संस्था सञ्चालन गर्ने भए चाँडै उचित स्थानमा व्यवस्थापन गर्नुपर्नेछ वा ती संरचना अस्पताललाई हस्तान्तरण (ह्यान्डओभर) गर्नुपर्नेछ, त्यसपछि हामी आफैं संस्था चलाउने छौँ।”
उक्त अस्पताल क्षेत्रका संरचनाहरू खाली गराउने सिलसिलामा केही समयअघि (गत असार २१ गते) स्वास्थ्य तथा स्वच्छता मन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले स्थलगत निरीक्षण समेत गरेका थिए।
सो क्रममा गृहमन्त्री गुरुङले त्यहाँ कार्यरत औषधि पसल सञ्चालकहरूसँग प्रत्यक्ष संवाद गर्दै सात दिनभित्र संरचना पूर्ण रूपमा खाली गराउन निर्देशन दिएका थिए।
भर्खरै
लोकप्रिय
