काठमाडौँ – नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संकटको समयमा राज्यको शक्ति लाठीमा नभई संयम, संवाद र अभिभावकत्वमा हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले चिकित्सकहरू लामो समयदेखि उचित पारिश्रमिक, सम्मानजनक श्रम र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा रहेको उल्लेख गर्दै उनीहरूका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले नेपालमा वार्षिक रूपमा दर्ता हुने चिकित्सकको संख्याभन्दा बढी चिकित्सकले विदेश जान आवश्यक कागजात बनाउने गरेको पाइएको भन्दै चिन्तासमेत व्यक्त गरे।
उनले न्यून पारिश्रमिक, लामो तथा अमानवीय कार्यघण्टा, बिदाको अभाव, रोजगारीको अनिश्चितता र श्रम शोषणका कारण चिकित्सक बाहिरिने क्रम बढ्दै गएको भन्दै त्यसतर्फ समेत सरकारको ध्यानाकर्षण गराए।
एकातिर सरकारी अस्पतालमा बिरामीले सेवा लिन लामो समय कुर्नुपर्ने र अर्कोतर्फ विशेषज्ञ चिकित्सकले रोजगारी नपाउने अवस्था रहेको भन्दै उनले सरकारले जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए।
यस्तै, उनले सुकुम्वासी नागरिकलाई उचित वैकल्पिक व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट हटाउन नमिल्ने बताए।
भर्खरै
लोकप्रिय
