- कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र रजिष्ट्रारमा लीलाराज भट्टराई नियुक्त भएका छन्।
- सरकारको मन्त्रिपरिषद् बैठकले ७ सदस्य थप गरी प्रतिष्ठानलाई पूर्णता दिएको छ।
- रजिष्ट्रार पदका लागि खुला विज्ञापनमा ९ जनाले आवेदन दिएपछि ७ जनाले अन्तर्वार्तामा भाग लिए।
मोरङ – कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल नियुक्त भएका छन्।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्षमा दाहाललाई नियुक्त गरेको हो।
त्यसैगरी, बैठकले प्रतिष्ठानका रजिष्ट्रारमा सुनसरीका लीलाराज भट्टराई नियुक्त भएको जनाएको छ।
अध्यक्षमा नियुक्त भएका दाहाल नेपाल पत्रकार महासंघ मोरङ तथा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन्।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सोमबार बैठकबारे जानकारी दिँदै भट्टराई प्रेस रजिस्ट्रार सिफारिस समितिको सिफारिसका आधारमा नियुक्त भएको बताए।
केही दिनअघि सरकारले खुला गरेको विज्ञापनमा रजिस्ट्रार पदका लागि ९ जनाले आवेदन दिएका थिए। जसमध्ये ७ जना अन्तर्वार्तामा सहभागी भएका थिए। अन्तर्वार्तामा भट्टराईसहित गोपाल काफ्ले, देवेन्द्र कार्की, बन्धु पोखरेल, नेत्रप्रसाद अधिकारी, अमृत बाँस्तोला र प्रभासचन्द्र झा सहभागी थिए।
त्यसैगरी, बैठकले प्रतिष्ठानका ७ सदस्यहरू पनि नियुक्त गरि प्रतिष्ठानलाई पूर्णता दिएको छ। सदस्यहरूमा मोरङबाट शान्ति दाहाल, सुनसरीका ध्रुव ढकाल, धनकुटाका रमेशचन्द्र अधिकारी, झापाका अर्जुन राजवंशी र विष्णुप्रसाद पोखरेल, ताप्लेजुङकी माला पालुङ्वा र उदयपुरबाट रेणु पराजुली रहेका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्राालय सञ्चार महाशाखा प्रमुख र नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष पदेन गरी ११ सदस्य हुने व्यवस्था छ।
भर्खरै
लोकप्रिय
