- सांसद रमेश मल्लले शंकास्पद गाडीको जरिवाना मात्र नगरी जफत गर्नुपर्ने कुरा संसदमा बताउनुभयो।
- उनले राज्य संरक्षित व्यक्ति र सत्तारुढ दललाई जिम्मेवारी पूरा गर्न र गतिविधि रोक्न आग्रह गरे।
- यस किसिमको गतिविधि जारी रहेमा जनताले मतादेश फिर्ता लिन सक्ने चेतावनी मल्लले दिए।
काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले मिडिया र नेताहरूका घरमा नियोजितरुपमा राखिएका शंकास्पद गाडीलाई चिट काटेर मात्र छाड्न नमिल्ने भन्दै जफत गर्नुपर्ने बताएका छन्।
मंगलबारको संसद बैठकमा बोल्दै उनले राज्यबाट संरक्षित केही मान्छेबाट यस्ता गतिविधि भएको देखिएको भन्दै उनले ५०० रुपैयाँ जरिवाना गरेर मात्र नपुग्ने बताएका हुन्।
‘हिजो मिडिया हाउसको अगाडि एकाबिहानै गाडीहरू तेर्स्याइयो। प्रमुख प्रतिपक्ष दलको नेताको घर खोज्दै गएर गाडी लिएर रोकेर जाने काम भयो। र दिनभरी के हो, कसो हो भनेर होहल्ला धेरै भयो। तर प्रकारान्तरले देखियो कि राज्य संरक्षित केही मान्छेहरूबाट नै यो गतिविधि गरियो’, उनले भने ‘आज ५०० रुपैयाँको चिट काटेर उनीहरूलाई छोड्दैछ भन्ने कुरा सुनियो। यो राज्य आतंक, राज्य आफैले सिर्जना गर्ने, आफैले त्यस्ता मान्छेहरूलाई परिचालन गर्ने, उनीहरूलाई ५०० को चिट काटेर घर पठाउने, यो कुनै हालतमा हुन सक्दैन। यसलाई लाखौंको जरीवाना तिराउनु पर्दछ र ती गाडीहरू जफत गरिन पर्दछ।’
मल्लले यस्ता गतिविधि गर्नेलाई छानबिन गरेर कारबाही गर्नुपर्ने माग गरे। सत्तारुढ दल रास्वपाले यस विषय वक्तव्य निकालेको र वक्तव्यले मात्र नपुग्ने उनको भनाइ छ। ‘राष्ट्रिय स्वतन्त्र पार्टी, सत्तारुढ पार्टीले एउटा वक्तव्य त निकालेको छ, तर वक्तव्य निकालेर मात्रै आफ्नो जिम्मेवारी पूरा हुँदैन’, उनले भने ›सत्तारुढ दलले यो विषयलाई सिरियस रूपमा लियोस्। त्रास र सन्तासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने यदि राज्य सञ्चालक र सरकार सञ्चालकको टाउकोमा यदि त्यो कुरा, त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ।’
यस्ता गतिविधि गर्दै जाने हो भने भोलि जनताले मतादेश फिर्ता लिने अवस्था आउनेसमेत उनको चेतावनी छ। ‘हिजो जुन जनताले तपाईहरूलाई मतादेश दिएर यहाँ पठाउनुभएको छ, भोलि त्यही जनताले त्यो मतादेश फिर्ता लिनका निम्ति एउटा ठूलो मुभमेन्टको स्थिति सिर्जना गर्ने दिन टाढा छैन, यस्तै गतिविधि गर्दा’, मल्लको भनाइ छ।
भर्खरै
लोकप्रिय
