धनगढी – सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले असार महिनाभर सञ्चालन गरेका ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा अभियानका क्रममा साढे ३४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेकाे छ।
ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ९१ वटा सवारीसाधनलाई कारबाही गर्दै ३४ लाख ५१ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले मंगलाबर सार्वजनिक गरेको प्रगति विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ४७३ चालकलाई कारबाही गरी २ लाख ५५ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ।
साथै, तीन पटक गरिएको लापसे (लागुऔषध परीक्षण) जाँचका क्रममा ८ जना चालकमा लागुऔषध सेवन पुष्टि भएपछि थप कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको ट्राफिक प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
उनका अनुसार असार महिनाभर ५ सय ८७ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरी २ लाख २६ हजार ६ सय ६६ जनालाई ट्राफिक नियमबारे जानकारी गराइएको छ।
ओभरलोड नियन्त्रण अभियानअन्तर्गत क्षमताभन्दा बढी भार बोकेका ११ वटा मालवाहक सवारीसाधनलाई कारबाही गरी ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ।
भर्खरै
लोकप्रिय
